परराष्ट्रमन्त्री ज्ञवाली र युएईका मन्त्रीबीच भिडियो बैठक

सोमबार, १७ जेठ, २०७८
डिजिटल संस्करण

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली कामदारहरूको स्वास्थ्य तथा खोपबारे युनाइटेड अरब इमिरेट्स (युएई)का समकक्षी अहमद अली अल सायेघसँग चासो व्यक्त गरेका छन् । नेपाललाई कोभिड– १९ विरुद्धको लडाइँमा स्वास्थ्य सामग्री पठाएर गरेको सहयोगप्रति पनि उनले प्रशंसा गरेका छन् । 

दुई परराष्ट्रमन्त्रीहरूबीच सोमबार भिडियो बैठक भएको हो । दुई देशबीचका सम्बन्धका विभिन्न पक्ष तथा कोभिडसँग सम्बन्धित सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाललाई संकटका वेला गरेको सहयोग अमूल्य रहेको बताउँदै परराष्ट्रमन्त्री ज्ञवालीले युएईमा रहेका नेपालीको ठूलो संख्यालाई गरेको सहयोगको पनि प्रशंसा गरेका छन् । 

उनले नेपाली श्रमिकहरूको हित रक्षा हुनेमा विश्वास व्यक्त गर्दै कोभिड– १९ विरुद्धको लडाइँमा पनि थप सहयोग हुने विश्वास जनाएका छन् । युएईका परराष्ट्रमन्त्रीले नेपालप्रति ऐक्यबद्धता जनाएका छन् । नेपालीको हित संरक्षण हुनेमा ढुक्क हुन उनले परराष्ट्रमन्त्री ज्ञवालीलाई आश्वस्त तुल्याएका छन् । 

परराष्ट्र मन्त्रालयका अनुसार युएईबाट नेपाललाई भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री चाँडै नै काठमाडौंमा उपलब्ध हुनेछ । 
 

सुझावित समाचार