नोभेम्बर ०१९ मै चीनमा कोरोना फैलिएको दाबी

बिहिबार, १३ जेठ, २०७८
डिजिटल संस्करण

कोभिड–१९ पहिचान हुनुअघि नै चीनमा यस रोगबाट तीनजना अनुसन्धानकर्ता गम्भीर संक्रमित भएको खुलेको छ । अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलका अनुसार चीनको वुहानस्थित इन्स्टिच्युट अफ भाइरोलोजीको ल्याबमा कार्यरत तीनजना अनुसन्धानकर्ता नोभेम्बर २०१९ मा गम्भीर संक्रमणका कारण अस्पताल भर्ना भएका थिए । 

अमेरिकाले निकै गोप्य रूपमा गरेको अनुसन्धान रिपोर्टलाई वाल स्ट्रिट जर्नलले उद्धृत गर्दै समाचार बनाएको छ । उनीहरू अस्पतालमा उपचारत रहको वेलासम्म विश्वमा कोरोना भाइरस अज्ञात थियो । अनुसन्धानकर्ताहरूलाई त्यसवेला कोरोना संक्रमण भएको वाल स्ट्रिट जर्नल र अमेरिकाको अनुसन्धानात्मक रिपोर्टको दाबी छ । ‘नोभेम्बरमा वुहानको ल्याबमा कार्यरत तीनजना शोधकर्ताको शरीरमा कोरोना भाइरसकै लक्षण देखिएको थियो,’ वाल स्ट्रिटको दाबी छ, ‘चीनले यसलाई लुकाउने धेरै प्रयास गर्यो । ल्याबमा शोधकर्ताहरूले गरेका अनुसन्धानका सबै प्रमाणसमेत नष्ट गरेको छ ।’

यद्यपि, यो दाबीलाई चीनले अस्वीकार गरेको छ । सामान्य बिरामी मात्र भएको अवस्थामा शोध गरिरहेका उनीहरूलाई किन आपत्कालीन अवस्थामा अस्पतालमा उपचार गरेको प्रश्न वाल स्ट्रिट जर्नलले गरेको छ । ‘एकै समयमा तीनजना निकै नराम्रोसँग बिरामी पर्नु र चिकित्सकदेखि अन्य स्टाफले उनीहरूको उपचारमा अपनाएको सतर्कता शंकास्पद छ,’ वाल स्ट्रिट जर्नलमा भनिएको छ, ‘त्यसैवेला नै वुहानमा कोरोना भाइरस देखिएकोमा कुनै शंका छैन ।’ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार चीनमा ८ डिसेम्बर २०१९ मा कोरोनाको पहिलो केस देखापरेको थियो ।

अमेरिकाको टास्क फोर्सका पूर्वअधिकारी डेभिडले पनि वुहानको ल्याबमा कार्यरत तीनजना शोधकर्ता नोभेम्बर २०१९ मा गम्भीर बिरामी परेको दाबी गरेका छन् । एक साताभित्र उनीहरूको स्वास्थ्य अवस्था गम्भीर भएको डेभिडले बताए । उनीहरू गम्भीर बिरामी भएपछि डब्लुएचओले चीनसँग स्वास्थ्यसम्बन्धी डाटा मागेको थियो । तर, चीनले यससम्बन्धी सबै डाटा लुकाएको डब्लुएचओको भनाइ छ । ‘वुहानमा त्यसवेला नै धेरै संक्रमित भइसकेको हुनुपर्छ, तर चीनले ९२ जना मात्रै संक्रमित भएको रिपोर्ट पठायो,’ डब्लुएचओले भन्यो । 

यसैबीच अमेरिकाको वैज्ञानिकहरूको एक टोलीले कोरोना उत्पत्ति सम्बन्धमा थप अनुसन्धान गर्न पाउँ भन्दै चीनसँग माग राखेको छ । यस टोलीले वुहानमा गएर अनुसन्धान गर्ने बताएको छ । तर, चीनले स्वीकृति दिन सक्ने सम्भावना न्यून छ । यसअघि डब्लुएचओको विशेषज्ञ टोली वुहानमा पुग्दा चीनले खासै सहयोग गरेको थिएन । चिनियाँ अधिकारीहरूकै निर्देशनमा डब्लुएचओको टोलीले वुहानमा अनुसन्धान गर्न बाध्य भएका थियो । 

एजेन्सीकाे सहयाेगमा

See More On

सुझावित समाचार