कोरोना नियन्त्रणका लागि गाउँगाउँमा सचेतना जगाउँदै दोलखाका प्रहरी

शनिबार, १ जेठ, २०७८
डिजिटल संस्करण

पहाडी जिल्ला दोलखाका गाउँ–गाउँमा कोरोनाको लक्षणसहितका बिरामी देखिन थालेपछि प्रहरीले समुदायस्तरबाटै बस्ती–बस्तीमा पुगेर सचेतना जगाउन थालेको छ । रोजगारी वा अन्य सिलसिलामा सहरी क्षेत्रमा बसोवास गर्ने जिल्लाबासीहरू गाउँ फर्केर खुलेआम हिँडडुल गर्न थालेपछि प्रहरीले तल्लो तहका बस्तीबाटै सचेतना अभियान सुरु गरेको हो । 

सहरबाट गाउँ आएका नागरिकहरू खुलेआम हिँडडुल तथा आफन्त भेटघाट र रमाइलो गर्ने बहानामा घरमा नबसेपछि कोभिड संक्रमण फैलिएको र त्यसलाई रोक्नका निम्ति सचेतना अभियान सञ्चालन गरिएको दोलखा प्रहरीले जनाएको छ । 

प्रहरीले जिल्लाका विकट बस्तीहरूमा पुगेर घरबाहिर ननिस्किन र नयाँ मान्छे देखिए सतर्क हुन तथा बाहिरबाट आएका जो कोहीलाई पनि होम आइसोलेसनमा सुरक्षित बस्न भन्दै माइकिङ गर्दै अभियान चलाइएको दोलखाका प्रहरी प्रमुख डिएसपी भेषराज रिजालले जानकारी दिए ।उनका अनुसार अहिलेसम्म गौरीशंकर, वैतेश्वर, विगु, भीमैश्वरसहितका स्थानीय तहहरूमा सचेतना अभियान सञ्चालन गरिसकिएको छ । 

५८ थान अक्सिजन सिलिन्डर अस्पताललाई हस्तान्तरण 
दोलखा प्रहरीले कोभिड संक्रमण भई अस्पतालमा उपचार गराइरहेका बिरामीहरूलाई अक्सिजन अभाव नहोस् भन्दै जिल्लाभरि सञ्चालनमा रहेका विभिन्न उद्योग तथा अन्य क्षेत्रबाट ५८ थान अक्सिजन सिलिन्डर संकलन गरी चरिकोट अस्पताललाई बुझाएको छ । संकलन गरिएका सिलिन्डरमध्ये २७ वटामा अक्सिजन भरेर र बाँकी ३१ वटा खाली सिलिन्डर अस्पतालमा प्राप्त भएको भीमेश्वर नगरका स्वास्थ्य शाखा प्रमुख श्याम खड्काले जानकारी दिए । 

दोलखा प्रहरीमा ५० प्रतिशत दरबन्दी रिक्त, नियमित काममै समस्या 
चार सय ८५ जनाको दरबन्दी रहेको जिल्ला प्रहरी कार्यालय दोलखामा अहिले दुई सय ४५ जना प्रहरी मात्र कार्यरत छन् । प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार झन्डै ५० प्रतिशत जनशक्ति अभाव हुँदा नियमित कार्य सम्पादनमा समेत समस्या हुँदै आएको छ । दोलखा प्रहरीअन्तर्गत ६ वटा इलाका प्रहरी कार्यालयसहित साना ठूला २६ वटा युनिट सञ्चालित छन, तर सबैतिर जनशक्ति अभाव हुँदा सोचेअनुसारको उद्देश्य पूरा गर्न नसकिएको रिजाल बताउँछन् ।

नयाँ पत्रिकासँग कुरा गर्दै प्रहरी प्रमुख रिजालले भने‘जिम्मेवारी थपिएकाेथपियै छन्, तर जनशक्ति भने घट्दो अवस्थामा छ तैपनि हार खाएका छैनौँ, दृढताका साथ जे आइपर्छ सबै काम राम्रैसँग गरेका छौं ।’ उनका अनुसार समाजमा हुने ठूला अपराधिक क्रियाकलापलगायत अन्य थुप्रै गतिविधिहरू सञ्चालन गर्न भने कठिनाइ हुने गरेको छ । उनले माथिल्लो निकायलाई जनशक्ति व्यवस्थापन गर्न आग्रह गरे पनि केन्द्रमा पनि जनशक्ति अभाव भएकाले पर्याप्त हुन नसकेको जनाएका छन् । 
 

सुझावित समाचार