लुम्बिनीमा मुख्यमन्त्रीविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

अल्पमतमा रहेको एमालेले एकल बहुमतको सरकार बनाउन नसक्ने गठबन्धनको ठहर

आइतबार, २६ बैशाख, २०७८
डिजिटल संस्करण

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध आइतबार फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरका अनुसार विपक्षी गठबन्धनका सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । 

गठबन्धनका नेताहरूका अनुसार अल्पमतको अवस्थामा संविधानविपरीत मुख्यमन्त्रीमा पोखरेल नियुक्त भएकाले प्रदेश सभामा बहुमत सदस्यहरूले फेरि अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्ने आवश्यकता भएको हो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक फखरुद्दिन खानले संविधान र लोकतन्त्रको मर्मविपरीत छलछाम गरेर मुख्यमन्त्री नियुक्ति भएकाले संविधान ठीक बाटोमा ल्याउन अविश्वासको प्रस्ताव दर्ता गरिएको बताए । 

अविश्वासको प्रस्तावमा ४० जना सांसदको हस्ताक्षर रहेको छ । प्रदेश सभामा हाल सदस्य संख्या ७९ रहेको छ । त्यसको बहुमत संख्या ४० हो, तर यहाँ एमालेका सांसदहरूको संख्या जम्मा ३८ रहेको छ ।  प्रदेशमा मुख्यमन्त्री अल्पमतमा परेको अवस्थामा विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव गत वैशाख ६ गते दर्ता गरेका थिए ।

सो अविश्वास प्रस्तावमा छलफल गर्न र टुंगोमा पुर्याउन १९ गतेलाई संसद् अधिवेशनसमेत बोलाइएको थियो । तर, १९ गते मुख्यमन्त्रीले पदबाट राजीनामा दिएपछि अधिवेशनसमेत नबस्दै अन्त्य गरिएको थियो । पोखरेलले पुनः सोही दिन आफूसँग बहुमत रहेको दाबी गरेका थिए । उनको दाबीपछि सोही दिन मुख्यमन्त्री नियुक्त भएका थिए । तर, प्रदेश सभामा आफूहरूको बहुमत रहेको भन्दै  विपक्षी गठबन्धनका  सदस्यहरूले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएपछि प्रदेश प्रमुख धर्मनाथ यादवबाट पोखरेलले मुख्यमन्त्री कार्यालयमै शपथ लिएका थिए । 

नयाँ सरकार गठनसँगै पोखरेल विवादमा पर्दै आएका छन् । एमालेका सांसद संख्या ४१ रहेको भनिएकोमा दुईजनाले राजीनामा दिएका छन् । यहाँ गत उपनिर्वाचनमा नेकपाबाट चुनाव जितेकी दाङकी  विमला वलीले माओवादी केन्द्र रोजेपछि मुख्यमन्त्रीले प्रदेश प्रमुखसमक्ष पेस गरेको सांसदहरूको हस्ताक्षरमध्ये तीनजनाको किर्ते गरेको आरोपसमेत विपक्षी गठबन्धनले लगाएको छ । विपक्षी गठबन्धनले कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ । गठबन्धनका नेताहरू अहिले प्रदेश प्रमुखको कार्यालयमा विशेष अधिवेशनको माग लिएर जाने तयारीमा  छन् ।  

सुझावित समाचार