दीप बस्न्यातलाई थुनामा राख्नुको कारण तीन दिनभित्र देखाउन सर्वोच्चको आदेश

आइतबार, १९ बैशाख, २०७८
डिजिटल संस्करण

ललितानिवास जग्गा हिनामिना प्रकरणका मुख्य अभियुक्त बनाइएकामध्ये एक दीप बस्न्यातलाई थुनामा राख्नुको कारण देखाउन सर्वोच्च अदालतले आदेश दिएको छ । आइतबार न्यायाधीश मीरा खड्काको इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा कारणदेखाउ आदेश जारी गरेको हो । 

‘निवेदकको मागबमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुन नपर्ने मनासिब आधार, कारण र प्रमाण भए सोसमेत खुलाई म्याद प्राप्त भएको मितिले बाटाका म्यादबाहेक तीन दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नू,’ एकल इजलासबाट भएको आदेशमा भनिएको छ । ६९ वर्षीय बस्न्यातको हकमा उनका ज्वाइँ प्रज्ज्वल अधिकारीले १७ वैशाखमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए । 

रिटमा बस्न्यातले आफूलाई मुटुका समस्याका साथै थाइराइड, रक्तचाप र मधुमेहको समस्या भएकाले स्वास्थ्योपचारका लागि बाहिर जान नसकेको उल्लेख गरेका छन् । कोरोना संक्रमण देखिएपछि ओम अस्पतालमा उपचाररत रहेको भन्दै उनले आफूलाई थुनामुक्त गरिनुपर्ने मागसहित बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तसमेत रहेका बस्न्यात हाल ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराएको आरोपमा मुद्दा खेपिरहेका छन् । विशेष अदालतले उनलाई २८ मंसिर ०७७ मा थुनामा राख्न आदेश दिएको थियो । प्रधानमन्त्रीनिवास विस्तार गर्नेसम्बन्धी प्रस्ताव तयार भएको टिप्पणी फाइलमा बस्न्यातले मन्त्रिपरिषदमा प्रस्ताव पेस गर्दा कुनै आधार र प्रमाणविना आफ्नै निर्देशनमा प्रस्ताव तयार गराई सोही प्रस्ताव आफैँले पेस गरी उक्त प्रस्ताव पेस गरेकाले उनको पनि संलग्नता देखिएको विशेषको ठहर थियो । 

‘नेपाल सरकारको मन्त्रालयको सचिवजस्तो मुख्य कार्यकारी पदाधिकारीका रूपमा रहेको निजको जिम्मेवारी, हैसियत, भूमिका एवं दायित्व र आरोप दाबीबमोजिम हुन सक्ने दण्ड–सजायसमेतलाई दृष्टिगत गर्दा तत्काल प्राप्त प्रमाणका आधारमा’ बस्न्यातलाई थुनामा राखी पुर्पक्ष गर्नुपर्ने आदेश विशेषका न्यायाधीशहरू प्रेमराज कार्की, अब्दुलअजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले दिएको थियो । 

त्यसयता डिल्लीबजार कारागारमा रहेका उनले विशेषको आदेशविरुद्ध सर्वोच्चमा पुनरावेदन दिएका छन् । यद्यपि त्यसमाथि सुनुवाइ हुन सकेको छैन । उनले विशेषको यो आदेश त्रुटिपूर्ण रहेको भन्दै आफूले थुनामुक्त भई मुद्दा लड्न पाउनुपर्ने उनको माग छ । उनले दिएको बन्दीप्रत्यक्षीकरणको निवेदन र विशेषविरुद्धको पुनरावेदन सँगसँगै राखेर हेरिनुपर्ने मागसमेत गरेका छन् । 

०७६ माघ तेस्रो साता अख्तियारले आफ्नो पूर्वप्रमुख आयुक्तसहित एक सय ७५ जनाविरुद्ध विशेष अदालतमा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको भन्दै मुद्दा दायर गरेको थियो । पूर्वमन्त्रीदेखि बिचौलियासम्मलाई विपक्षी बनाइएको उक्त मुद्दामा बस्न्यातसँग नौ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो मागदाबी गरिएको थियो । 

सुझावित समाचार