‘काम गरेपछि पेटभर खाना माग्दा ठेकेदारबाट कुटिएका’ सप्तरीका एक मजदुरको उपचारको क्रममा अन्तर्राष्ट्रिय मजदुर दिवसकै दिन शनिबार मृत्युु भएको छ । ठेकेदारको कुटाइबाट घाइते भएका सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुर टोलका ४५ वर्षीया बुुधुु सदाको उपचारको क्रममा गजेन्द्र नारायणसिंह अञ्चल अस्पतालमा मृत्युु भएको हो ।
मृतक सदाकी श्रीमती प्रमिलादेवीका अनुसार गाउँकै ठेकेदार रमेश यादवले बुुधु सदालाई गत ९ वैशाखमा कामका लागि भारतको जमुनानगरस्थित प्लाइउड कम्पनीमा काम गर्न लगेका थिए । गत १४ वैशाखमा खाना खाने विषयमा झगडा भएपछि ठेकेदार रमेश यादवसहित चारजनाले सदालाई कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका सदालाई १६ वैशाखमा ठेकेदारले सदाको श्रीमती प्रमिलादेवीलाई फोन गरेर सीमासम्म लिन आउन भनेका थिए ।
प्रमिलाले भनिन्, ‘म, छोरा र भतिजालाई लिएर बिहीबार बोर्डरमा जाँदा मुख्य बाटोमा प्रहरी छ, जान दिँदैन भन्दै चौरीबाट लिएर जान भन्यो । हामी सबैजना मिलेर काँधमा बोकेर धानखेतको बाटोबाट घर ल्यायौँ ।’
घरमा ल्याएपछि बुधुले घटनाबारे जानकारी गराएका थिए । बुधुको भनाइ उद्धृत गर्दै प्रमिलाले भनिन्, ‘अघिल्लो दिन पनि तरकारीविना निस्तै भात खान दिएको र अर्को दिन पनि त्यस्तै खाना खान दिएपछि उहाँले काम गर्ने मान्छेलाई सधैँ विनातरकारीको खाना खान दिएपछि कसरी काम गर्न सक्छ ? के हामी गोरु हो ?’
ठेकेदारले नुन–भात खाएर काम गर्नुपर्छ भन्ने जवाफ दिएका थिए । सवालजवाफकै क्रममा ठेकेदार रमेश यादव, महेश यादव, कमल र अर्को एकजना नाम थाहा नभएको व्यक्तिले कुटपिट गरेको जानकारी दिएको प्रमिलाले बताइन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्रप्रसाद धमलाले मृतकको बाहिरी घाउ देखिएको छैन । ‘बुधुका परिवारले कुटपिट गरी हत्या गरेको भन्नुभएको छ । कुटपिटबाटै मृत्युु भएको हो कि होइन भन्ने विषय अनुसन्धानमै छ ।’ उनले भने ।
शव पोस्टमार्टम गर्न धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लाने तयारी भइरहेको संयुक्त दलित संर्घष समिति सप्तरीका सचिव शिवकुमार रामले जनाए । राष्ट्रिय मुसहर उत्थान संघका सल्लाहकार गंगा सदाले गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा उपलब्ध स्रोत–साधनबाट मात्रै पोस्टमार्टम गर्दा धेरै कुरा थाहा हुन नसक्ने बताएपछि धरान लग्ने तयारी गरिरहेको बताए । मृतक सदाका चार छोराछोरी छन् ।