औषधि उत्पादन क्षेत्र (बायो–फर्मास्युटिकल सेक्टर)को प्राविधिक तथा वैज्ञानिक आधारशीलामा पछिल्लो डेढ दशकयता विश्वभर नै नाटकीय परिवर्तन आएको छ, जुन आउँदा दशकमा उच्च दरमा निरन्तर रहनेछ । औषधि उत्पादनमा नवीनतम प्रविधिका साथै यस सम्बन्धका वैज्ञानिक ज्ञानमा पनि विकास भइरहेको सन्दर्भमा यो क्षेत्रमा थुप्रै नयाँ अवसर र चुनौती पनि थपिनेछन् । हाम्रोजस्तो गरिब मुलुकमा औषधि उद्योगमा सफल हुनका लागि नेपालको औषधि उद्योगलाई नयाँ आकार दिइरहेको शक्ति एवं प्रमुख चुनौतीहरूको मूल्यांकन विभिन्न आयामबाट गरिनु जरुरी छ ।
नेपालमा सम्भावना
नेपालजस्ता मुलुकमा औषधिजन्य उत्पादनको म्यानुफ्याक्चरिङ तथा बजार व्यवस्थापन विकसित मुलुकको तुलनामा निकै पछाडि छ । तथापि औषधिको क्षेत्रमा स्थानीय बजारमा लाभ उठाउन सकिने सम्भावना अझै पनि उच्च छ । वर्तमान आयातमा आधारित स्वदेशी बजारको दिगो म्यानुफ्याक्चरिङमा आधारित बजारमा (प्रडक्सन बेस्ड मार्केट) रूपान्तरण अत्यावश्यक छ । अहिले पनि हामी ५५ प्रतिशतभन्दा बढी औषधि आयात गर्छाैँ र कुल मागको ४५ प्रतिशत स्वदेशी उद्योगको उत्पादनले धानिरहेका छौँ ।
देशभित्रै औषधि उत्पादनको दिगो आधार तयार हुँदा त्यसले स्थानीय उत्पादनको आर्थिक महत्व/मूल्य पनि बढ्ने, बढ्दो जनसंख्याका लागि थप रोजगारीका अवसर सिर्जना पनि हुन्छन् । कमजोर उत्पादन आधार र महँगो प्रविधिका कारण, हामीलाई चाहिने केही महत्वपूर्ण औषधिको अभाव अझै पनि निर्यातबाटै पूरा गर्नु परिरहेको छ ।
नेपालको औषधि उद्योगको व्यवस्थापन गर्दा प्रारम्भिक चरणमा आयात प्रतिस्थापन र दीर्घकालमा क्रमैसँग निर्यातको दिशामा जाने गरी रणनीति बनाउनु उपयुक्त हुन्छ । तीव्र रूपले विकसित विश्वका दुई ठूला अर्थतन्त्रको बीचमा रहेको नेपालको भौगोलिक अवस्थितिको पनि हाम्रा म्यानुफ्याक्चरिङ उद्योगका विकासमा प्रत्यक्ष प्रभाव हुने नै भयो । त्यो प्रभाव कडा प्रतिस्पर्धाको वा विशाल बजारका अथाह सम्भावनाको पनि हुन सक्छ ।
अहिले नेपालका उद्योगहरूको कमजोर अवस्थाका कारण यहाँका म्यानुफ्याक्चरिङ उद्योगका निम्ति यी विशाल बजारका कम्पनीहरूबाट घातक प्रतिस्पर्धाको सामना गर्नुपर्ने सम्भावना नै ज्यादा छ । अधिकांश आयातित उत्पादनहरू स्थानीय रूपले उत्पादित वस्तुहरूभन्दा उल्लेख्य रूपले नै सस्ता छन् । त्यसका कारणले हाम्रा उद्योगधन्दाहरूले त्यस स्तरमा लाभ लिन सकिरहेका छैनन् । यसको पहिलो कारण यहाँको बजारको सानो आकार र दोस्रो, हाम्रो मुलुकले अख्तियार गरेको उदार आयात नीतिका कारण धेरै ब्रान्डका एउटै उत्पादनहरू हाम्रो बजारमा भरमार पाइन्छन् ।
दक्षिणतर्फको विशाल खुला सीमाबाट हुने गैरकानुनी आयातलाई नियन्त्रित गर्न नसकेमा यो समस्या थप विकराल हुने देखिन्छ । यी कमीकजोरीका बाबजुद, विशेषगरी औषधि उत्पादन उद्योगका लागि निम्न कारण नेपालमा सम्भावना उच्च छ :
बजारको मागलाई धान्न नेपालले उच्च प्रतिशतमा औषधि आयात गरिरहेको अवस्थामा हाम्रा औषधि उद्योगका लागि स्थानीय बजारमै अझै पनि ठूलो अवसर छ । यहाँका उत्पादकका लागि यो अतिरिक्त लाभ हो । बजार विस्तारको पछिल्लो प्रवृत्ति विशेषगरी भारतसँगको व्यापारले यस क्षेत्रकै विशाल बजार नेपालमा उत्पादित औषधिका लागि पहुँच उपलब्ध गराउने सम्भावना बढ्दै गएको छ ।
भूजडित नेपाल : नेपालको उत्तरी तथा दक्षिणी दुवै सीमाले विश्वकै विशाल उपभोक्ताहरूलाई हामीसँग जोडेको छ । साथै, नेपालको वर्तमान स्थितिमा सुधार गर्न स्थानीय एवं अन्तर्राष्ट्रिय लगानीकर्तालाई म्यानुफ्याक्चरिङ क्षेत्रमा आकर्षित गर्ने सरकारको उदार नीति र प्रतिबद्धतासमेत व्यक्त भएको अवस्था छ ।
चुनौती
आजको बजारमा सफलताका लागि कुशल व्यवस्थापनका साथै संगठनलाई बजारको अग्रपंक्तिमा उभ्याउने दृष्टिकोण पनि चाहिन्छ । यस परिस्थितिमा नयाँ उद्योगहरूले प्रविधि, मानव तथा वित्तीय स्रोतको सन्तुलन मिलाएर मात्रै पनि पुग्दैन मुलुकभित्र उद्योगधन्दाका लागि पूर्वाधार र व्यवसायको उचित वातावरण र प्रविधिको समायोजन पनि उत्तिकै आवश्यक पर्छ ।
खासगरी नेपालले डब्ल्युटिओको सदस्यता लिएपछि र बहुपक्षीय व्यापार सम्झौताहरूमा संलग्न भएपछिको नेपालमा आयात सहजीकृत भएको छ र बहुराष्ट्रिय कम्पनीहरूसँगको प्रतस्पर्धा नै अहिलेको मुख्य चुनौती हो । बजारमा सहभागीहरूबीच प्रतिस्पर्धा मात्रै सघन भएको छैन, नेपाली खरिदकर्ताको आवश्यकताको सन्दर्भमा बजार फरक पनि देखिइरहेको छ ।
नेपाली औषधि बजारमा थुप्रै विदेशी कम्पनीहरू प्रवेश गरेकोले देशमा आयातको भार थपिँदा मुलुकको व्यापार घाटामा पनि वृद्धि हुनेछ । त्यसको भार पनि यहाँका औषधि उत्पादक÷उपभोक्तामा पर्नेछ । हाम्रो नियमनकारी प्रणाली कमजोर रहेका कारण गुणस्तरहीन र उच्च मूल्यका उत्पादनबाट उपभोक्तामा अतिरिक्त व्ययभार थपिने कुरा नौलो भएन ।
दोस्रो, मुलुकभित्र र बाहिरको राजनीतिक वातावरण पनि महत्वपूर्ण पक्ष हो । विशेषगरी कोभिड–१९ पश्चात् विश्वका ठूला अर्थतन्त्रहरू स्वदेशी उत्पादनतर्फ मोडिएकाले त्यसले पनि यो उद्योगलाई आकार दिनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । वास्तवमा, चीन र भारतजस्ता मुलुकका कम्पनीसँग प्रतिस्पर्धा गर्नुपरेको तीतो यथार्थले यहाँका औषधि उत्पादक कम्पनीहरूमाथि सञ्चालन लागत घटाउन थप दबाब परिरहेको छ । नेपाली कम्पनीहरूका लागि खासगरी चीन र भारतका कम्पनीहरूसँग तिब्र प्रतिस्पर्धा गर्नुपरेको हालको अवस्थामा जीवन मरणको सवाल खडा भइरहेको छ र भविष्यमा यो प्रतिस्पर्धा अझै कडा र कठिन हुनेछ ।
औषधि उत्पादनको क्षेत्रमा नेपालले पाँच वर्षअगाडि जे परिस्थिति सामना गरिरहेको थियो अहिले स्थिति त्यसभन्दा बिल्कुलै भिन्न भएको छ र हाम्रा नीति कति कमजोर छन् भनी बुझ्न बांगलादेश, भारत र पाकिस्तान सरकारका नीतिहरू हेरे मात्रै पनि पुग्छ । सकारात्मक पक्षबाट हेर्दा, नवप्रवर्तनहरूले नयाँ औषधि तथा उपचार पद्धतिका लागि पर्याप्त नयाँ अवसरहरू सिर्जना गरिरहेका छन् ।
विशेषगरी अन्तर्राष्ट्रिय मापदण्डअनुसार उत्पादनको विकास र गुणस्तर सुनिश्चितताको रणनीति अपनाइरहेका कम्पनीका लागि यो सुखद समाचार हो । यत्तिको ठूलो सम्भावना बोकेको व्यवसायबाट व्यापक अवसर लिन निश्चय पनि हाम्रा कम्पनीले अत्याधुनिक प्रविधिहरू पछ्याउनै पर्छ ।
तेस्रो, तीव्र रूपले विकसित भइरहेको राजनीतिक तथा वैज्ञानिक विकाससँग लय मिलाउन नसक्दा अधिकांश नेपाली कम्पनीका सामु ठूला चुनौती खडा छन् । विगत केही वर्षयता व्यवस्थापनलाई प्रभावकारी बनाउन नसकेका कम्पनीहरू या त बजारबाट पलायन भइसकेका छन् वा पलायन हुने क्रममा छन् ।
प्रतिस्पर्धात्मक लाभलाई कायम राख्न सक्दा अवसरलाई छोप्न सकिन्छ साथै आन्तरिक एवं बाह्य प्रतिस्पर्धामा टिकिरहन पनि सकिन्छ । कम्पनीहरूले नेपालजस्तो सानो बजारमा मुनाफायोग्य हुन अवरोधका पहाडहरू पन्छाउन सक्नुपर्ने हुन्छ । चुस्त बजार प्रवद्र्धन रणनीति र त्यसबाट सिर्जित अवसरबाट लाभान्वित हुन उत्पादन विकासको प्रक्रियामा सुधारदेखि व्यवसायका नयाँ अवसरहरू सिर्जना गर्नुपर्ने हुन्छ ।
अग्रणी, स्थापित वा उदीयमान जुनसुकै कम्पनी भए पनि हाम्रा व्यवसायीले चुनौतीका पहाडहरूको सम्बोधन गर्नुपर्ने नै छ । के हामी हाम्रो व्यवसायको क्षितिजलाई नयाँ आकार दिइरहेको विज्ञान तथा प्रविधिको विकास सँगसँगै हिँड्न सक्छौ ? स्रोत कसरी छुट्याउने, कोसँग सहकार्य गर्ने, उद्योगमा प्रतिभाहरूलाई कसरी भित्र्याउने, कसरी टिकाउने भन्नेमा ध्यान दिनुपर्छ । विश्वव्यापी प्रतिस्पर्धाको युगमा विज्ञान तथा प्रविधिसँग हिड्न नसक्नेहरूलाई कुनै स्थान हुनेछैन ।
भविष्यका औषधि कम्पनीहरू एकातिर उच्च स्तरले नवीन र अर्कातिर अतिअनुशासित हुन अत्यन्त जरुरी छ । यस्तो दोहोरो चुनौतीका कारण अनुभवी व्यवस्थापकहरूले सिर्जनशीलता र किफायत दुवैमा अब्बल हुने कम्पनी कस्तो हुनुपर्छ आकलन गर्न सक्नुपर्छ ।
अहिलेको भूमण्डलीकरणको वातावरणमा हामी कसरी टिक्न र सफल हुन सक्छौँ भन्ने हामीले बुझ्नैपर्छ । यहाँ सफल हुन, नेतृत्वले मौजुदा जोखिमहरूको व्यवस्थापन गर्ने क्षमताको विकास गर्नुपर्छ, साथै आगामी अपेक्षित चुनौतीहरूको सामना गर्ने सवलामा पनि थुप्रै तयारीहरू गर्नुपर्छ । औषधि व्यवसायका सबै नेतृत्व तहले पहिलो त सफलता र समस्या समाधानको कुनै एउटा मात्रै विधि र अचुक औषधि छैन भन्ने बुझ्नुपर्छ । व्यवसायका मोडलहरू बदलिँदो परिवेश र नयाँ आयामहरूको अनुभव र सिकाइमा आधारित हुनुपर्छ ।
सबैभन्दा महत्वपूर्ण, यो क्षेत्रका उद्यमीले यो उद्योग र आफ्नो संगठनबारे व्यापक दृष्टिकोण निर्माण गर्नुपर्छ । कम्पनीहरूले विज्ञानको भाषा, सञ्चालनको भाषा, वित्तको भाषा, बजार व्यवस्थापनको भाषा, नियमनको भाषा तथा सरकारसँगको सम्बन्धको भाषा बोल्नुपर्ने हुन्छ । कम्पनीका नेतृत्वले संगठनको नेतृत्व गर्ने अलावा अन्य काममा पनि प्रशस्त समय दिनुपर्छ । सफल व्यवस्थापनका लागि पनि त्यो अनुभव आवश्यक हुन्छ ।
औषधि निर्यातका मौलिक समस्या
नेपालमा औषधि उत्पादक र निर्यात बजारबीच सम्बन्धविच्छेदको स्थिति छ । यो विषय मुख्यतः सञ्चालन तथा उत्पादनको उच्च लागत, न्यून परिमाणको उत्पादन र नियम कानुनबारे सही बुझाइको अभावका साथै निर्यात बजारसम्म पुग्ने आपूर्ति शृंखलाको अभावसँग सम्बन्धित छ । यसर्थ, नेपालमा उत्पादित औषधिहरूको निर्यातका लागि विशेषगरी विश्वव्यापी उदीयमान बजारहरूलाई मध्यनजर गर्दै सरकारले नै सहजीकरण गरिदिनुपर्छ ।
औषधि उद्योगको तथ्यांक
सन् १९७०–७९ खुलेका उद्योग– ३, बन्द– १, जम्मा– २
सन् १९८०–८९ खुलेका उद्योग– १३, बन्द– ५, जम्मा– १०
सन् १९९०–९९ खुलेका उद्योग– २१, बन्द– १, जम्मा– ३०
सन् २०००–०७ खुलेको उद्योग– ११, बन्द– २, जम्मा– ३९
सन २००७–२० खुलेको उद्योग– २५, बन्द– ४, जम्म – ६०
शर्मा देउराली जनता फर्मास्युटिकलका कार्यकारी निर्देशक हुन् ।