मनाङमा १० महिनाअघि भेन्टिलेटर पुग्यो, तर चलाउने जनशक्ति पुगेन

भेन्टिलेटर चलाउने जनशक्ति नहुँदा सेवा सञ्चालनमा आएन

मंगलबार, ३१ चैत, २०७७
डिजिटल संस्करण

हिमालपारिको जिल्ला मनाङमा रहेको एक मात्र जिल्ला अस्पतालमा ०७७ असारमा पुगेको भेन्टिलेटर चलाउने जनशक्ति नहुँदा उक्त सेवा सञ्चालनमा आउन सकेको छैन । अस्पतालमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि १० महिनाअघि भेन्टिलेटर पुगेको हो । तर, १० महिना बितिसक्दा पनि उक्त सामान प्रयोगमा आउन सकेको छैन ।

कुनै पनि बिरामीको अवस्था जटिल बनेकाे समयमा भेन्टिलेटरको आवश्यकता पर्ने भन्दै १० महिनाअघि नै यस अस्पतालमा भेन्टिलेटर ल्याइएको थियो । मनाङ जिल्लामा दुईजना मात्र चिकित्सक डा. प्रतिभा गौली र सन्तोष अधिकारी कार्यरत छन् ।

‘कोभिडका बिरामीका लागि उपचार गराउन भेन्टिलेटरका सबै सामग्री छन्, तर जडान गरिएको छैन,’ डा. अधिकारीले भने, ‘भेन्टिलेटरसम्बन्धी तालिमप्राप्त डाक्टर भए सहज हुन्थ्यो, जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ ।’

भेन्टिलेटरको आवश्यकता त्यतिवेला पर्छ जब बिरामीको अवस्था गम्भीर हुन्छ । यसलाई नियन्त्रण गर्न लाइफ सपोर्ट सिस्टम वा भेन्टिलेटरको सहयोग लिने गरिन्छ । डा. अधिकारीले भने, ‘भेन्टिलेटर बिरामीलाई निको पार्न र जिउँदो राख्नका लागि प्रयोग गरिन्छ ।’

अस्पतालमा भेन्टिलेटरसहित दुई बेडको आइसियू निर्माणका लागि सामान खरिद गरिएको छ । जनशक्ति अभाव भएकाले उक्त सेवा सञ्चालन गर्न नसकिएको मनाङ जिल्ला अस्पतालका प्रमुख रहमत अन्सारीले बताए । उनका अनुसार हाल जिल्ला अस्पतालमा जम्मा पाँच कर्मचारी छन् ।

सिनियर अहेब प्रमुख अन्सारी, डा. प्रतिभा गौली, डा. सन्तोष अधिकारी, नर्स विना पौडेल र ल्याबमा करार कर्मचारी प्रकाश रोक्का छन् । दुईजना डाक्टरको दरबन्दी भए पनि मनाङ जिल्ला अस्पतालमा दरबन्दीका डाक्टर एकजना मात्र छन् । डा. सन्तोष अधिकारी पनि करारका कर्मचारी हुन् ।

सुझावित समाचार