समाजमा खुल्न थाले एचआइभी संक्रमित

शुक्रबार, २१ फागुन, २०७७
डिजिटल संस्करण

लमजुङमा दुई सय २३ संक्रमित, एक सय १५ ले लिन्छन् एआरटी सेवा

समाजको डरले रोग लुकाएर बस्दै आएका लमजुङका एचआइभी संक्रमित पछिल्लो समय केही खुल्न थालेका छन् । तर, यस्तो संख्या अझै न्यून छ । जिल्लामा सरकारी तथा गैरसरकारी निकायले एचआइभीसम्बन्धी जनचेतनामूलक कार्यक्रम चलाइरहेका छन् । त्यसले संक्रमितलाई अस्पतालसम्म पुगेर औषधि सेवन गर्न केही मनोबल बनाएको छ । तर, विज्ञहरूका अनुसार यो दर अझै बढाउनुपर्नेछ । 

जिल्ला अस्पताल लमजुङका अनुसार हाल जिल्लामा दुई सय २३ एचआइभी छन् । तीमध्ये ४५ प्रतिशत महिला र ५५ प्रतिशत पुरुष छन् । चालू आर्थिक वर्ष साउनदेखि माघमसान्तसम्म १७ सय ७९ जनाले स्वास्थ्य परीक्षण गरेकोमा पाँचजना एचआइभी संक्रमित भेटिएका छन् । ०७६/७७ मा ६ जना संक्रमित थपिएका थिए । उनीहरूका लागि सरकारले नि:शुल्क औषधि सेवनको व्यवस्था गरेको छ । जिल्ला अस्पतालबाट त्यस्ता संक्रमितका लागि निःशुल्क एआरटी सेवा दिने गरिएको छ, तर सबैजनाले यो सेवा लिइरहेका छैनन् । 

एआरटी सेवालाई थप प्रभावकारी बनाउने योजनाका साथ विभिन्न जिल्लामा अनुगमन गर्दै आएको पुगेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सुधा देवकोटा यहीबीच जिल्ला अस्पताल लमजुङमा अनुगमनमा पुगेकी थिइन् । उनले अझै पनि एआरटी सेवा लिन मानिसहरूले धक मानेको आफूले पाएको बताइन् । सबै संक्रमितले नियमित रूपमा अस्पताल पुगेर सेवा लिने गरेको नपाएको पनि उनले बताइन् । 

एक सय १५ संक्रमित नियमित औषधि लिन्छन्
लमजुङमा दुई सय २३ संक्रमित भए पनि जिल्ला अस्पतालबाट एक सय १५ जनाले मात्र एआरटी सेवा लिइरहेका छन् । अस्पतालका एआरटी काउन्सिलर गणेश गुरुङले एक सय १५ एचआइभी संक्रमितले नियमित रूपमा औषधि सेवन गरिरहेको जानकारी दिए । गुरुङका अनुसार औषधि लिनेमा ५१ महिला, ५२ पुरुष, सात बालिका र पाँच बालक छन् । 

‘उनीहरूलाई अस्पतालमा रहेको एआरटी सेवा सेन्टरबाट एक–एक महिनामा नि:शुल्क औषधि वितरण गर्ने गरेका छौँ,’ गुरुङले नयाँ पत्रिकासँग भने, ‘एआरटी सेवा सेन्टर लमजुङबाट औषधि सेवन गर्नेको संख्यामा प्रत्येक वर्ष वृद्धि भइरहेको छ ।’ एचआइभी संक्रमित अझै पनि समाजमा डराएरै बसिरहेको जिल्ला अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए । ‘रोग लुकाएर बस्ने र अन्तिममा एकदमै ग्रस्त भइसकेपछि मात्र रगत परीक्षण गर्न आउने गरेको पाइन्छ,’ श्रेष्ठले भने, ‘पहिचान भएपछि अस्पतालबाट निःशुल्क एआरटी सेवा निरन्तर दिने गरेका छौँ ।’ जिल्लामा हालसम्म १३ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा पाँच महिला र आठ पुरुष छन् । 

एआरटी सेवा थप प्रभावकारी बनाउँछौँ : डा. देवकोटा
एआरटी सेवालाई थप प्रभावकारी बनाउने योजनाका साथ आफूहरू विभिन्न जिल्लामा अनुगमनमा पुगेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. सुधा देवकोटाले बताइन् । जिल्ला अस्पताल लमजुङमा अनुगमनमा आएकी डा. देवकोटाले भनिन्, ‘अझै पनि एआरटी सेवा लिन मानिसहरू धक मानेको देखियो । उनीहरू नियमित रूपमा अस्पताल नआउने भएकाले पनि उनीहरूमा अझै संकोच छ भन्ने बुझ्न सकिन्छ ।’ 

डा. देवकोटाका उनका नेपालका ८० वटा एआरटी सेन्टरबाट एचआइभी संक्रमितलाई औषधि वितरण हुने गरेको छ । ‘समाजमा अझै पनि एचआइभी संक्रमितलाई हेर्ने दृष्टिकोण नकारात्मक भएकाले एचआइभी संक्रमित खुल्न सकिरहेका छैनन्,’ डा. देवकोटाले भनिन्, ‘यो अवस्था अन्त्य गर्न स्थानीय तहले एचआइभीसम्बन्धी सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ । त्यसपछि मात्र यो प्रभावकारी हुनेछ ।’

See More On

सुझावित समाचार