महेन्द्रनगरमा आधुनिक ह्याचरी उद्योग सञ्चालनमा

शनिबार, १ फागुन, २०७७
डिजिटल संस्करण

कञ्चनपुरको महेन्द्रनगर आधुनिक ह्याचरी उद्योग सञ्चालनमा आएको छ । भीमदत्त नगरपालिका १५ गोबरैयामा आधुनिक ह्याचरी उद्योग सञ्चालनमा आएको हो । यसअघि कञ्चनपुरका ह्याचरी उद्योग नहुँदा यहाँका कुखुरापालक किसान व्यवसायीले चितवनलगायतका अन्य जिल्लाबाट खरिद गर्नुपर्ने बाध्यता थिए, स्थानीयस्तरमै ह्याचरी उद्योगबाट कुखुराका चल्ला उत्पादन भएपछि कुखुरापालक किसानलाई सुविधा भएको छ । 

शुक्लाफाँटा एग्रो एलिभिएटिभ नेपालका प्रबन्ध निर्देशन कृष्ण विष्टले दुई वर्षअघि स्थापना भएको फर्मले अब कुखुराका चल्ला उत्पादनका लागि मेसिन ल्याएको बताए । उनका अनुसार १२ हजार क्षमता भएको मेसिनमा सात हजार पाँच सय चल्ला उत्पादन गरिनेछ । 

चल्ला उत्पादन गर्ने इन्कुभेटर मेसिन आइसकेकले अब मेसिनमार्फत चल्ला उत्पादन गरिने प्रबन्ध निर्देशक विष्टले बताए । ‘२१ दिनमा चल्ला उत्पादन हुन्छ, ‘प्रबन्ध निर्देशक विष्टले भने, ‘स्थानीय बजारमै खपत गछौँ ।’ उपभोक्ताको मागअनुरूप स्थानीय प्रजातिका नेपाली रैथाने कुखुरा पालिएका छन् । दैनिक ६ सयदेखि आठ सय अन्डा उत्पादन हुने बताउँदै उनले मागअनुसार आपूर्ति गर्न नसकिएको बताए । ‘बजारमा यो कुखुराको धेरै माग छ, ‘उनले भने, ‘हामीले मागअनुरूप दिनै सकेका छैनौँ ।’ 

सरकारी दररेटअनुरूप नै अन्डा, चल्ला र कुखुरा बिक्री–वितरण भइरहेको उनले बताए । ‘बजारमा उपभोक्ता ठगिइरहेका छन, ‘उनले भने, ‘लोकल कुखुराका नाममा अन्य कुखुरा बिक्री हुँदा, वास्तविक किसानले मूल्य नपाउने र उपभोक्ताले पनि वास्तविक खोजेको मासु नपाउने समस्याको अब अन्त्य हुन्छ ।’ 

डेढ करोड लगानीमा सञ्चालनमा रहेको फर्ममा पाँचजना कामदार छन् । शुक्लाफाँटा एग्रो एलिभिएटिभ नेपालका सञ्चालक प्रजापति नेगीले कृषिमा आत्मनिर्भरका लागि फर्म सञ्चालनमा ल्याएको बताए । ‘हामीले वस्तु उत्पादन गरेर स्थानीयस्तरमै खपत गर्नुपर्छ, बाँकी बाह्य निर्यात गर्नुपर्छ, ‘उनले भने, ‘आत्मनिर्भर बन्नका लागि फर्म सञ्चालनमा ल्याएका हौँ ।’ 

सुझावित समाचार