हिमालयन बैंकको मोबाइल बैंकिङबाट राजस्व तिर्न मिल्ने

बुधबार, २१ माघ, २०७७
डिजिटल संस्करण

हिमालयन बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ सेवाबाट नेपाल सरकारको राजस्व भुक्तानी व्यवस्था सञ्चालन गरेको छ । बैंकले आफ्ना ग्राहकले सरकारी कर तथा राजस्व हिमालयन बैंकको मोबाइल बैंकिङ एप्सबाट सजिलै भुक्तानी गर्न सक्ने सुविधा दिएको हो । 

बैंकले एनसिएचएलको नेसनल पेमेन्ट्स इन्टरफेस (एनपिआई) मार्फत नै थप सेवाका रूपमा यसलाई विस्तार गरेको जनाएको छ । मोबाइल बैंकिङको एनपिआईमार्फत सरकारी भुक्तानी गर्ने व्यवस्था गर्ने हिमालयन पहिलो बैंक भएको दाबी गरिएको छ । 

बैंकले पहिलेदेखि नै आफ्नो मोबाइल बैंकिङ च्यानलबाट कनेक्ट आइपिएसमार्फत रियल टाइम अनलाइन फन्ड ट्रान्सफर सेवा प्रदान गर्दै आएको जनाएको छ । 

अब एनपिआईमार्फत मोबाइल बैंकिङबाट थप गरिएको सरकारी भुक्तानीको सेवाले राजस्व संकलनको प्रक्रियामा ग्राहक एवं सरकारी पक्ष दुवैलाई सहज हुने बैंकले विश्वास व्यक्त गरेको छ । हाल बैंकले ७० शाखा, ४ एक्सटेन्सन काउन्टर, १ सय ४६ एटिएम तथा ४ हजार २ सयभन्दा बढी पिओएस टर्मिनलमार्फत सेवा दिइरहेको जनाएको छ । 

सुझावित समाचार