पाइलटसँग अनधिकृत शुल्क असुल गर्ने डाक्टर प्राधिकरणको निलम्बनमा

मंगलबार, २८ पुष, २०७७
डिजिटल संस्करण

पाइलट तथा चालकदलका सदस्यहरूसँग अनधिकृत रूपमा शुल्क उठाउने नेपाल नागरिक उड्डयन प्राधिकरणका डाक्टर राजीवकुमार देवलाई प्राधिकरण नेतृत्वले निलम्बन गरेको छ । डाक्टरले बढी रकम असुल गरेको विषयमा पाइलट तथा चालकदलका सदस्यहरूले उजुरी नै दिएपछि कारबाही गरेको हो । ‘उहाँको विषयमा अहिले छानबिन चलेकाले छानबिन नसकिने समयसम्मका लागि निलम्बन गरेको हौँ,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने । प्राधिकरणले गत बिहीबार कारबाहीको सिफारिस गरेको थियो । 

डा. देवले पाइलट तथा चालकदलका सदस्यहरूसँग अनधिकृत रूपमा पाँच गुणा महँगो शुल्क लिएर स्वास्थ्य प्रमाणपत्र दिने गरेको खुलासा नयाँ पत्रिकाले गरेको थियो । कोभिड–१९ का कारण एयरलाइन्स कम्पनी र पाइलटसहित चालकदलका सदस्यहरू मारमा परिरहेका वेला शुल्क असुल गरेपछि उनीहरूले प्राधिकरणमा उजुरी दिएका थिए । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले डा. राजीवकुमार देव र डा. सञ्जय कार्कीलाई उड्डयन स्वास्थ्य सुरपरिवेक्षकका रूपमा नियुक्त गरेको छ । देव नभएको समयमा डा. सञ्जय कार्कीलाई काम गर्ने जिम्मेवारी दिएको समेत महानिर्देशक पोखरेलले बताए । 

प्राधिकरणले पाइलटहरूको प्रत्येक एक वर्षमा स्वास्थ्य परीक्षणको रिपोर्ट हेर्ने र प्रमाणपत्र जारी गर्ने गरी डाक्टरलाई नियुक्त गरेको थियो । सोही स्वास्थ्य प्रमाणपत्रका आधारमा पाइलटहरूको लाइसेन्स नवीकरण गर्ने व्यवस्था छ । तर, राजीवकुमारले ओम अस्पतालमा पाइलट र चालकदलका सदस्यहरूलाई बोलाउने र तोकेको भन्दा पाँच गुणा महँगो शुल्क असुल गर्ने गरेको पाइएको छ । प्राधिकरणले भने प्राधिकरणमै आएर स्वास्थ्य रिपोर्ट हेर्ने र एकजनाको १ हजार मात्रै लिने गरी नियुक्त गरेको थियो । प्राधिकरणले तोकेको डाक्टरले जारी गरेको प्रमाणपत्रका आधारमा मात्रै उडानमा सहभागी हुन पाउने व्यवस्था छ । 

उक्त १ हजार पनि प्राधिकरणले लिएर डाक्टरलाई प्रमाणपत्रका आधारमा दिने सहमति छ । तर, डा. राजीवकुमारले भने ओम अस्पतालमा बोलाएर एकजनासँग ५ हजार शुल्क लिने गरेको पाइएको छ । कोभिड–१९ का कारण पछिल्लो समय प्रत्येक १५ दिनमा पाइलट तथा अन्य चालकदलका सदस्यहरूले स्वास्थ्य परीक्षणको रिपोर्ट डाक्टरलाई बुझाउने र डाक्टरले प्रमाणपत्र दिएपछि मात्रै उडानमा जान पाउने व्यवस्था छ ।

डाक्टरले नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्ससहित आन्तरिक उडान गर्ने एयरलाइन्स तथा हेलिकोप्टर कम्पनीका पाइलटहरूसँग पनि रकम असुल गरेको पाइएको थियो । कोभिडको महामारीमा मात्रै विभिन्न एयरलाइन्सका पाइलट र अन्य चालकदलका सदस्यहरूसँग मात्रै शुल्कका नाममा २० लाखभन्दा बढी असुल गरेको पाइएको थियो ।

प्राधिकरणका डाक्टरले वार्षिक रूपमा मात्रै स्वास्थ्य प्रमाणपत्र जारी गर्ने १५ सयभन्दा बढी पाइटलहरू–क्रुहरू छन् । तर, अहिले कोभिड–१९ को संकटमा एकजना पाइलट प्रत्येक १५ दिनमा स्वास्थ्य परीक्षणको प्रमाणपत्र लिएर उडानमा जानुपर्छ । तर, डाक्टले महँगो शुल्क लिँदा प्रत्येक १५ दिनमा ५ हजार बुझाउनुपर्ने बाध्यतामा रहेका छन् । 

सुझावित समाचार