सांसद दिलकुमारी रावल थापा पार्वतीले संसद् पुनर्स्थापनाका लागि रुवाबासी गर्नुभन्दा जनताका बीचमा जानु हितकर हुने बताएकी छिन् ।
राष्ट्रिय सभाको आजको बैठकमा उनले चुनाव घोषणा भइसकेकाले अब जनताका बीचमा जानु हितकर हुने बताएकी हुन् । उनले भनिन्, ‘जनताको बीचमा जाने कुरा प्रजातन्त्रको मूल्य, मान्यता र आदेश हो । सडकमा भन्दा जनताको बीचमा जानु नै हितकर होला । संसद् पुनर्स्थापनाका लागि रुवाबासी गर्नुभन्दा जनताका बीचमा गएर, जनताले उठाएका प्रश्न, सोधेका जिज्ञासा, गुनासो, सरोकारको जवाफ दिएर भोट माग्नु नै उचित होला ।’
निर्वाचित बहुमतको नेतृत्व गर्ने सरकारले जनतामा जाने कुरा प्रजातन्त्र, लोकतन्त्रको आदर्श, मान्यता, आधारभूत सिद्धान्तभित्र पर्ने उनको भनाइ छ ।