अन्तरबैंक एटिएम प्रयोग महिनामा दुईपटक मात्र निःशुल्क

शुक्रबार, २३ पुष, २०७७
डिजिटल संस्करण

फरक बैंकको एटिएम प्रयोग गर्दा अब शुल्क लाग्ने भएको छ । १ माघबाट महिनामा दुईपटकभन्दा बढी फरक बैंकको एटिएम प्रयोग गर्दा शुल्क लाग्ने भएको हो । चैतयता जुनसुकै बैंकको एटिएम प्रयोग गर्दा निःशुल्क रहेको थियो । तर, अब एउटा बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा दुईपटकलाई मात्र शुल्क तिर्नुनपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

एटिएम निःशुल्क हुने व्यवस्थापछि बैंक तथा वित्तीय संस्थाहरूले एटिएममा पर्याप्त नगद मौज्दात नराख्ने, सफाइमा ध्यान नदिने गर्न थालेको भन्दै राष्ट्र बैंकले शुल्क लिन सक्ने व्यवस्था गरेको हो । महिनामा तेस्रोपटक अर्को बैंकको एटिएम प्रयोग गर्दा प्रतिपटक अधिकतम २० रुपैयाँ शुल्क लाग्ने भएको हो ।  

पछिल्लो समय एटिएम प्रयोग दर पुनः बढ्न थालेको छ । असारदेखि कात्तिकसम्ममा २ करोड ६२ लाखपटक एटिएमको प्रयोग भएर २ खर्ब २७ अर्ब रुपैयाँसम्म झिकिएको थियो । साउन र भदौमा एटिएमको प्रयोग मासिक घट्न थाले पनि त्यसपछि भने वृद्धि भइरहेको छ ।

 मोबाइल र इन्टरनेट बैंकको प्रयोग गर्दा लाग्ने सेवा शुल्कबारे ग्राहकलाई पूर्वजानकारी गराउनुपर्नेसमेत राष्ट्र बैंकले व्यवस्था गरेको छ । त्यस्तै, डिजिटल बैंकिङ प्रयोग गर्दा युजरनेम र पासवर्ड हराएमा ग्राहकहरूले आफैँ प्राप्त (रिट्राइभ) गरेर सेवा पुनः सुचारु गर्न सक्ने व्यवस्था मिलाउनसमेत बैंकहरूलाई राष्ट्र बैंकले निर्देशन दिएको छ । 

सुझावित समाचार