रौतहटमा नेपाली सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

मंगलबार, २१ पुष, २०७७
डिजिटल संस्करण

रौतहटमा नेपाली सेनाको टोलीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

जिल्लाको राजपुर नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । श्री नम्बर २८ बाहिनी अड्डा जितपुर बाराबाट सेनानी नरबहादुर कार्कीको नेतृत्वमा २२ जना स्वास्थ्यकर्मीको टोलीले स्थानीयको स्वास्थ्य परीक्षण गरेर निःशुल्क औषधि पनि वितरण गरेको थियो ।

नेपाली सेना, नेपाली जनतासँग भन्ने नेपाली सेनाको मर्मअनुसार कोरोना भाइरसका कारण औषधाेपचार गराउन जान नपाएका, कोरोना र लकडाउनका कारण रोजगारी तथा आम्दानीको स्राेत गुमाएर स्वास्थ्यमा समस्या भए पनि आर्थिक अभावमा उपचार गर्न नसकेकाहरूलाई प्राथमिकतामा राखेर उपचार गरिएको सेनानी कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार सो नगरपालिकाको वडा नम्बर ९ बैरिया हेल्थपोस्टमा राखिएको स्वास्थ्य शिविरमा एक सय नौजना महिला, एक सय एकजना पुरुष र ३२ बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य परीक्षण गर्दा स्थानीयमा श्वासप्रश्वाससम्बन्धी, ग्याष्ट्रिक, हाडजोर्नी, एलर्जी, पेटसम्बन्धी रोगहरू बढी देखिएको नम्बर २८ फिल्ड एम्बुलेन्स गुल्म बाराकी प्राविधिक सहसेनानी डाक्टर सृष्टिना प्रधानले जानकारी दिइन्  ।

श्री नम्बर २८ बाहिनी अड्डाका बाहिनीपती रथी जोन्सन खड्काको निर्देशनमा भएको सो शिविरमा इन्द्रबक्स गण रौतहटले सहजीकरण गरेको थियो । आफ्नै गाउँठाउँमा निःशुल्क स्वास्थ्य उपचार तथा औषधि पाएपछि स्थानीयले खुसी हुँदै नेपाली सेनालाई धन्यवाद दिएका थिए ।

सुझावित समाचार