घनश्याम भुसालको प्रश्न- संविधान च्यातेर चुनाव हुन्छ भनेर पत्याउने कुरा हो ?

सोमबार, २० पुष, २०७७
डिजिटल संस्करण

नेकपा प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालले संसद् पुनर्स्थापनाको विकल्प नभएको बताएका छन् ।

उनले भने, ‘अब प्रचण्ड–ओली कसको पछाडि लाग्नुभन्दा हाम्रोसामु दुईवटा बाटो छ । त्यो भनेको संसद् पुनर्स्थापना वा ध्वंस ? त्यसैले संसद् पुनर्स्थापनाको विकल्प छैन।’ 

नेकपा प्रचण्ड–नेपाल समूहको नवलपुरमा सोमबार आयोजित जिल्लास्तरीय अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेकपाका नेता भुसालले देश बचाउन, पार्टी जाेगाउन र लाेकतन्त्रका लागि  संसद् पुनर्स्थापनाको विकल्प नभएको बताएका हुन् । 

उनले संसद् पुनर्स्थापना नभए देशमा विध्वंस मच्चिने चेतावनीसमेत दिए । उनले भने, 'संविधान च्यातेर चुनाव हुन्छ भनेर पत्याउने कुरा हो ? राष्ट्रपतिले फूलबुट्टा भरेर स्वीकृत गर्नुभएको प्रतिनिधिसभा विघटन संविधानविपरीत छ, पुनर्स्थापनाको विकल्प छैन ।' 

पूर्वमन्त्रीसमेत रहेका नेता भुसालले संसद् विघटनको प्रस्ताव लैजाँदा मन्त्रिपरिषदमा प्रधानमन्त्री केपी ओली मात्र विघटनको पक्षमा रहेको अन्य सबै मन्त्री विपक्षमा रहेको बताए । उनले केपी ओलीको एकल निर्णय गर्ने स्वभावले पार्टीमा संकट आएको दाबी गरे । 

उनले संसद् पुनर्स्थापना हुनेमा विश्वस्त हुन कार्यकर्तालाई आग्रह गरे । संसद् पुनर्स्थापनापछि मुलुक ठूलो दुर्घटनाबाट जोगिने र पार्टी एकतामा पनि दख्खल नपुग्ने भुसालकाे तर्क थियाे । पार्टी विभाजनपछि नवलपरासीमा ओली र प्रचण्ड–नेपाल दुवै समूहले शक्ति प्रदर्शन, भेला, प्रशिक्षण सुरु गरेका छन् । 

सुझावित समाचार