जिल्ला प्रहरी कार्यालय कालिकोटले विस्फाेटक पदार्थसहित दुईजनालाई पक्राउ गरेको छ ।
कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका– ९ लालुका ३६ वर्षीय दुर्गराज बोहरा र जाजरकोट भेरीमालिका नगरपालिका–२ का ३२ वर्षीय पदमबहादुर पुनलाई प्रहरीले विस्फाेटक पदार्थसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कालिकोटले पक्राउ परेका दुवैजनालाई सोमबार बिहान सार्वजनिक गरेको छ ।
पक्राउ परेका दुवैजना सरकारद्वारा प्रतिबन्धित विप्लव समूहका कार्यकर्ता भएको र उनीहरूबाट अर्धनिर्मित बुन्दक एक थान, प्रेसरकुकर एक थान, डिटोनेटर २४ थान, पटका पाँच पकेट, सकेट नाै थान, गन्धक एक केजी, सोडा आधा केजीलगायतका विस्फाेटक सामग्रीसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी यक्षकुमार जोशीले जानकारी दिए ।
पक्राउ परेका उनीहरूलाई विस्फाेटक पदार्थ ऐनसम्बन्धी कारबाही हुने जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।