रेकर्ड बनाउँदै नेप्से : एकै दिन ९० अंकले वृद्धि, ६ अर्बभन्दा बढीको कारोबार

सोमबार, २० पुष, २०७७
डिजिटल संस्करण

नेप्से परिसूचक करिब ९० अंकले बढेर २ हजार १ सय ७५ मा पुगेको छ । अहिलेसम्मका लागि यो नयाँ कीर्तिमान हो । बजारले उचाइ छोइरहँदा लगानीकर्ताको आत्मविश्वास झन् दरिलो बन्दै गएको छ ।  आइतबार नेप्से परिसूचक एकोहोरो बढेर नयाँ उचाइमा पुगेको हो । यस दिन कारोबार रकममा पनि अघिल्ला दिनहरूमा भन्दा उच्चदरमा वृद्धि भएको छ । कारोबार रकम ६ अर्ब ३४ करोड रुपैयाँ पुगेको हो । 

कारोबारमा आएका सबै समूहगत परिसूचकमा सुधार भएको हो । व्यापारमूलक, अन्य, ट्रेडिङ समूहगत परिसूचक उच्चदरमा सुधार भएको छ । बैंकिङ समूहगत परिसूचकमा पनि क्रमिक सुधार भइरहेको छ । यस दिन यो समूहमा ४ दशमलव ४७ प्रतिशतको वृद्धि भएको हो । 

१ सय ६८ कम्पनीको यस दिन मूल्य बढेर कारोबार भएको छ । २८ कम्पनीको मूल्य घटेर कारोबार भएको छ । मूल्य घट्ने सबैको ४ प्रतिशतभन्दा कमले मूल्य घटेको हो । बजार बढेसँगै लगानीकर्ताको सम्पत्तिको कागजी मूल्य २९ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ ।   

आइतबारबाट कारोबारमा आएको प्रभु लाइफ इन्स्योरेन्सको दिनभरमा १ सय २० कित्ता सेयर किनबेच भयो । १ सय ३७ रुपैयाँबाट कारोबार सुरु भएको सेयर मूल्य १ सय ४१ रुपैयाँ पुगेको छ । कम्पनीले पहिलो कारोबारका लागि १ सय ९ रुपैयाँ ५६ पैसादेखि ३ सय २८ रुपैयाँको मूल्य रेन्ज पाएको हो । 

यस दिन कारोबारमा आएका २९ कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ । हिमालयन डिस्टिलरी, साल्ट ट्रेडिङ र नेपाल पुनर्बिमा कम्पनीको कारोबार १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ ।  प्राइम कमर्सियल बैंकको १५ प्रतिशत बोनस सेयर प्राप्त गर्ने अन्तिम दिन भएकाले लगानीकर्ता आकर्षित भएका छन् । बैंकको ५० करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

नेपाल लाइफ इन्स्योरेन्स अहिले पनि लगानीकर्ताको पहिलो रोजाइमै परेको छ । कम्पनीको ५० करोड ९५ लाख रुपैयाँको सेयर किनबेच भएको हो । यस दिन आइसिएफसी फाइनान्सको १० दशमलव ५० प्रतिशत बोनस सेयर समायोजन भएको छ । 

See More On

सुझावित समाचार