युनिभर्सल पिस केन्द्र निर्माण अभियानमा कुलमान घिसिङको ऐक्यबद्धता

बुधबार, १५ पुष, २०७७
डिजिटल संस्करण

नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले बुद्धको जन्मस्थल लुम्बिनीमा ‘महासिद्ध सेन्चुरी फर युनिभर्सल पिस’ केन्द्र निर्माण अभियानमा ऐक्यबद्धता जनाएका छन् । नेपालमा एक रुपैयाँ र अन्यत्र एक अमेरिकी डलर दान अभियान चलाएर केन्द्रकाे संरचना निर्माण गर्न सुरु गरिएको छ । 

लुम्बिनीमा बुधबार भएको कार्यक्रममा घिसिङले केन्द्रका परिकल्पनाकार श्यालपा तेन्जिङ रिन्पोचेलाई एक रुपैयाँ दान दिएर अभियानमा ऐक्यबद्धता जनाएका हुन् । घिसिङले केन्द्रको स्थापना विश्वशान्तिका लागि महत्वपूर्ण भएकाले निर्माणमा अपनत्व लिएर आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे । 

कार्यक्रममा रिन्पोचेले सबैको सहभागिता  र अपनत्व हुने गरी  अभियानमार्फत केन्द्रको स्थापना गरेर लुम्बिनीलाई विश्वशान्तिको मुहान बनाउन लागिएको बताए । अभियान गत कात्तिकमा सुरु गरिएको थियो । 

युनिभर्सल पिस केन्द्रमा दुई हजारभन्दा बढी क्षमताको अन्तर्राष्ट्रियस्तरको सभाकक्ष, शान्तिवार्ता र ध्यान कक्ष, पुस्तकालय र संग्रहालय हुनेछन् । विभिन्न मुलुकका शाेधकर्ताहरू रहने खोज अनुसन्धान केन्द्र रहनेछ । जसले प्राचीन र आनुधिक भाषामा लेखिएका बौद्ध धर्मसम्बन्धी पुस्तकहरूको संकलन, चर्चा, व्याख्या गर्नेछन् ।
जर्मन आर्किटेक्टले डिजाइन गरेको कमलको फूल आकारमा बनाउन लागिएको केन्द्र तीन वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य छ । 
 

सुझावित समाचार