प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ : कांग्रेस नेता घर्ती

सोमबार, १३ पुष, २०७७
डिजिटल संस्करण

कांग्रेस केन्द्रीय सदस्य दिलबहादुर घर्तीले प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने बताएका छन् । कांग्रेस लमजुङले गरेको विरोध सभामा नेता घर्तीले भने, ‘प्रधानमन्त्री केपी ओलीले संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेकाले पुनर्स्थापना हुनुपर्छ । मुलुकलाई संकटबाट बचाउन पनि प्रतिनिधिसभा पुनर्स्थापना गरी संविधानको सर्वोच्चतालाई जोगाउनुपर्छ ।’

नेता घर्तीले ओलीको असंवैधानिक कदमलाई सर्वोच्च अदालतले न्याय दिने विश्वास व्यक्त गरे । ‘प्रतिनिधिसभा विघटनको संवैधानिक व्याख्या र न्याय निरुपण सर्वोच्च अदालतले गर्छ, संविधानकोे अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्चकै हो, उसको निर्णय नै अन्तिम हुनेछ, आशा छ, न्याय मर्ने छैन ।’

सत्ताको लडाइँकै कारण प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको भन्दै उनले कांग्रेस नेपालको संविधानको पक्षमा रहेको बताए । अर्को प्रसंगमा घर्तीले ओली सरकार जनताको हितमा भन्दा आफ्नो हितमा लागेकाले जनताले अब सोच्नुपर्ने दिन आएको बताए । 

कांग्रेस जिल्ला सभापति भेषबहादुर पौडेलले सरकारको अकर्मण्यताका कारण कांग्रेस बाध्य भएर सडकमा आउनुपरेको बताए । 

सुझावित समाचार