देव गुरुङ भन्छन्– देशमा संकटकाल लागू हुन सक्छ

आइतबार, १२ पुष, २०७७
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता देव गुरुङले देशमा अब संकटकाल लागू हुने बताएका छन् । लमजुङको बेसीसहरमा आइतबार प्रचण्ड-नेपाल समूहले आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न लमजुङ आएका गुरुङले सञ्चारकर्मीसँग भने, ‘अहिलेको ‘कु’को आशय भनेको प्रतिनिधिसभा विघटन गर्नु र देशमा संकटकाल लागू गराउनु हो ।’

प्रधानमन्त्रीले मनोमानी ढंगले सबै काम संविधान मिचेर गरेको भन्दै गुरुङले जंगी, हैकमवादी र निरंकुश शासन लाद्न पनि पछि नपर्ने बताए । अहिलेको संविधानले प्रतिनिधिसभा विघटनको परिकल्पना नगरेको भन्दै नेता गुरुङले प्रधानमन्त्रीलाई त्यो अधिकार नभएको टिप्पणी गरे । 

अर्को प्रसंगमा उनले गणतन्त्र, संघीयता, समानुपातिकता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्रलगायतका उपलब्धि गुम्नेतर्फ सचेत रहनुपर्ने बताए । प्रतिनिधिसभा विघटन गर्नुको पछाडि नेपालमा विदेशीको सैन्य अखडा कायम गर्न खोजिएको उनको भनाइ छ । अर्को प्रसंगमा नेता गुरुङले सर्वोच्च अदालतले जनमत र संवैधानिक व्यवस्थाकै पक्षमा फैसला गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गर्ने विश्वाससमेत व्यक्त गरेका छन् । उनले भने, ‘संविधान र जनमतको सम्मान गर्न, स्थिरता कायम राख्न पनि अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्छ ।’ 

सुझावित समाचार