कमजोर टेलिफोन र इन्टरनेट सेवाले डोल्पाली नागरिक हैरान

आइतबार, १२ पुष, २०७७
डिजिटल संस्करण

डोल्पामा ल्यान्डलाइन, इन्टरनेट तथा मोबाइल टावरले राम्रोसँग काम गर्न छोडेको करिब एक महिना भयो । दुर्गम जिल्लालाई सुगमसँग जोड्ने भरपर्दो माध्यमको रूपमा रहेको फोन तथा इन्टरनेट सेवाले राम्रोसँग काम नगरेपछि नागरिकले हैरानी खेप्नुपरेको छ ।

जिल्लाका दुनै, जुफाललगायतका ठाउँमा राखिएका नमस्ते तथा स्काईका टेलिफोन टावरबाट उपलब्ध फोन तथा इन्टरनेट सेवा कमजोर भएपछि नागरिकले हैरानी खेप्नुपरेको हो ।

छिनमै देखिने, छिनमै हराउने र कुरा गर्दा नबुझिने फोन तथा इन्टरनेट सेवाका कारण एक मिनेट कुरा गर्न घन्टौँ कुर्नुपर्ने सर्वसाधारण बताउँछन् । मुड्केचुला गाउँपालिकाका स्थानीय हितकुमार रोकायले फोनले काम गर्न छोडेको लामो समय भए पनि सुधारका लागि अझै प्रयास नभएको बताए ।

‘सदरमुकाम दुनैकै फोन सेवा काम नलाग्ने भएको छ, बीसौँपटक फोन डायल गर्दा पनि न यताको आवाज उता राम्रोसँगै सुनिन्छ न त उताको नै । डोल्पालीले ठूलो सञ्चार सास्ती खेप्नुपरेको छ,’ रोकायले गुनासो गरे ।

उनले दुनैको फोन सेवाले काम नगरेका कारण फोनबाट गर्न सकिने कामका लागि आफू घन्टौ हिँडेर सदरमुकाम पुगेको बताए । उनले भने, ‘पैसा भने काटिहाल्ने कुरा भने नहुने टावर हुनुभन्दा नहुनु नै बेस छ । बरु टावर नै राखिएको छैन भनेर त चित्त बुझाउन सकिन्छ ।’ 

पटक–पटक अवरुद्ध भइराख्ने टेलिफोन टावर तथा जलविद्युतको गुणस्तर सुधारका लागि जिल्लाका नेतृत्वहरू उदासीन हुँदा बारम्बार नागरिकले सास्ती खेप्दै आएको समाजसेवी ओमेन्द्र केसीले बताए ।

नेपाल टेलिकमको कमजोर सेवाकै कारण वर्षमा दर्जनौँपटक दुर्गमका नागरिकहरूले सञ्चारको समस्या भोग्दै आएको उनको भनाइ छ ।

लामो समयदेखि गुणस्तर खस्केको टेलिफोन तथा इन्टरनेट सेवाका कारण जिल्लाका सरकारी तथा तथा गैरसरकारी कार्यालयको सेवा प्रवाहसमेत प्रभावित भएको छ ।

कमजोर सेवाका कारण हैरान भएपछि नागरिक, स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरू आफैँ दूरसञ्चार कार्यालय धाउन थालेका छन् ।

डोल्पोबुद्ध गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम पज्ञानीले भने, ‘फोन तथा इन्टरनेटले काम नगरेकै कारण जनताको सेवा प्रवाहमा ढिलासुस्ती भएको छ । मिनेटमै हुने कामका लागि पनि घन्टौँ कुर्दा पनि हुँदैन ।’ 

जनताको विकास योजना सम्झौतादेखि पेस्की रकम निकासा गर्नसमेत हम्मेहम्मे परेको उनको भनाइ छ । जिल्लामा बाँडिएको एडिएसएल इन्टरनेट सेवाले काम नगरेपछि सबैभन्दा धेरै बैंक शाखाहरूमा भिडभाड लाग्ने गरेको छ । नयाँ खाता खोल्ने, चेक सटही गर्ने तथा बचत गर्नेलगायतका कामका लागि सर्वसाधारणको भिडभाड लाग्ने गरेको हो । 

इन्टरनेटले काम नगरेकै कारण हप्तौँदेखि नयाँ खाता खोल्ने फाइलहरू त्यतिकै थन्किएको सिटिजन्स बैंक दुनै शाखाका कर्मचारी धनगिरी फडेराले गुनासो गरे ।

बढ्दाे अनलाइन कक्षाका कारण प्रयोगकर्ताहरू बढेकै कारण डोल्पाको फोन तथा इन्टरनेट सेवा कमजोर भएको दूरसञ्चार कार्यालय डोल्पा शाखाले जनाएको छ ।

नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगन्जको टोली डोल्पा आइसकेकाले छिट्टै सुधार हुने आशा रहेको दूरसञ्चार कार्यालय डोल्पाका प्राविधिक नवराज भट्टराईले जानकारी दिए ।

सुझावित समाचार