एभरेष्ट ग्यासका मिति सकिएका ६ सय ७५ सिलिन्डर नष्ट, ६ करोड लगानी थपेर उद्योगको क्षमता दोब्बर बनाइँदै

शुक्रबार, ३ पुष, २०७७
डिजिटल संस्करण

काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित चल्नाखेलमा उद्योग रहेको एभरेष्ट ग्यासले मिति सकिएका, प्वाल परेका र हाइड्रो टेस्टमा असफल भएको ६ सय ७५ थान पुराना सिलिन्डर नष्ट गरेको छ ।

उद्योगी शिवप्रसाद घिमिरले शुक्रबार दिउँसो एक कार्यक्रम गरी गुणस्तर तथा नापतौल विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल आयल निगमका प्रतिनिधिको रोहवरमा पुराना सिलिन्डर नष्ट गरेको जानकारी दिए । ‘पुराना र मिति सकिएका ग्यास सिलिन्डर प्रयोग गर्नु असुरक्षित छन् । हामीले यस्ता असुरक्षित सिलिन्डर बजारबाट संकलन गरी नष्ट गर्ने कार्यलाई निरन्तरता दिने क्रममा आज दिउँसो एभरेष्ट ग्यासका ६ सय ७५ थान पुराना सिलिन्डर नष्ट गरेका छौँ,’ उनले भने । 

उद्योग परिसरमा पुराना सिलिन्डर नष्ट गरेको उनले बताए । काठमाडौंको बजारमा एभरेष्ट ग्यासका करिब चार लाख सिलिन्डर छन् । ‘यो भनेको काठमाडौंको ग्यास बजारमा करिब १३ प्रतिशतको बजार हिस्सा हो,’ उनले भने, ‘काठमाडौंका उपभोक्ताको विश्वास जितेको ब्रान्डलाई थप सुरक्षित र भरपर्दो बनाउन हामीले असुरक्षित सिलिन्डरलाई नष्ट गरेका हौैँ । यसबाट एभरेष्ट ग्यासको सिलिन्डर भान्सामा प्रयोग गर्दा जोखिमरहित हुने सन्देश दिन खोजेका छौँ ।’

एभरेष्ट ग्यासको बोटलिङ स्टोरेज तीन सय ५० मेट्रिक छ । त्यस्तै, दैनिक (८ घन्टामा) आठ हजार सिलिन्डर रिफिलिङ गर्ने क्षमता छ । काठमाडौंमा एभरेष्ट ग्यासको बजार हिस्सा बढाउन उद्योगमा थप लगानी गर्न लागेको घिमिरेले बताए । ‘उद्योगको क्षमता दोब्बर बनाउन लागेका छौँ । यसका लागि ६ करोड लगानी गर्नेछौँ,’ उनले भने । थप लगानीबाट स्टोरेज र रिफिलिङ क्षमता दोब्बर हुने उनले बताए ।

एभरेष्ट ग्यास ग्रुपसँग थप ६ वटा ग्यास उद्योगसमेत छन् । घिमिरेका अनुसार ग्रुपमातहत सुनसरीमा कामख्या र प्रिमा, हेटौँडामा सहारा, भैरहवामा त्रिशूल, धनगढीमा सैपाल र काठमाडौंमै अर्काे सुगम ग्यास उद्योग रहेका छन् । पुस महिनाभर यी उद्योगका समेत सिलिन्डर नष्ट गर्ने गरी बजारबाट पुराना सिलिन्डर संकलन भइसकेको छ ।

त्रिशूलको तीन सय ६०, सुगमको चार सय पाँच, प्रिमाको ६ सय ९० पुराना सिलिन्डर संकलन गरी नष्ट गर्न लागेको घिमिरेले बताए । यी सबै सिलिन्डर नष्ट गर्दा उद्योगलाई करिब ४९ लाख रुपैयाँको क्षति हुने भए पनि उपभोक्ताको सुरक्षालाई प्राथमिकता दिएको उनले बताए ।

पुराना सिलिन्डर नष्ट गर्ने उद्योगको कदम सराहनीय भएकाे उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बताए । ‘एभरेष्ट ग्यासले जस्तै उपयोग गर्न नमिल्ने सिलिन्डर अरू उद्योगले पनि नष्ट गरेर उपभोक्ताको सुरक्षामा संवेदनशील हुनु जरुरी छ,’ तिमिल्सिनाले भने ।

सुझावित समाचार