सम्पदा निर्माण-पुर्ननिर्माण महानगरको प्राथमिक योजना : मेयर शाक्य

शनिबार, २० मंसिर, २०७७
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले संस्कृति र परम्पराको जगेर्ना गर्ने कुरामा काठमाडौं महानगरपालिका दत्तचित्त भएर लागेको बताएका छन् । 

उनले सम्पदा संरक्षणलाई महानगरपालिकाले  प्राथमिकतामा राखेर निर्माण–पुर्ननिर्माणको अभियान अघि बढाएको पनि बताए । आज वडा २५ श्रीघः, नघलस्थित धर्मकीर्ति विहारको विस्तारित भवनको शिलान्यास गरेका छन् । 

‘क्वाःपा, द्योःछेँ, बहाल, बही, सत्तल जस्ता सांस्कृतिक सम्पदाको निर्माण–पुनःनिर्माणको अभियानलाई महानगरपालिकाले प्राथमिकतामा राखेर अघि बढाएको छ,’ उनले भने, ‘गुठी परम्परालाई जीवन्त बनाइराख्न पनि काठमाडौं महानगरपालिकाले आवश्यक लगानी गर्दै आएको छ ।’

उनले हाँले सम्पदा निर्माण गर्दा जनसमुदायको पनि अपनत्व हुने गरी काम आग्रह समेत गरे । ‘तपाईंहरु सम्पदा निर्माण–पुर्ननिर्माणको योजना लिएर आउनुहोस् बजेट अभाव हुन दिन्न,’ उनले भने, ‘सम्पदा निर्माण एक जनाको मात्र पहलमा सम्भव हुँदैन । सबैको सहयोग आवश्यक रहने भएकाले महानगरपालिकाभित्रका सम्पदा निर्माणमा सबैको हातेमालो आवश्यक छ ।’ 

शाक्यले कार्यक्रममा सम्बोधन गर्दै कामपाले विभिन्न थेरवादी तथा वज्रयानी विहारहरू निर्माण गर्न आवश्यक सहयोग पुर्याउँदै आएको स्मरण समेत गराए । महानगरभित्र अवस्थित बुद्ध विहारको मुल भवन, लुम्बिनीको वज्रयान महाविहार, जनबहाल (सेतो मत्स्येन्द्रनाथ) को दिगीछेँ, स्वयम्भूस्थित भजनघरसँगैको विहार, स्वयम्भूस्थित आनन्दकुटी विहार, किम्डोलस्थित आनन्दभुवन विहार, बानेश्वरस्थित अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र निर्माण गर्न सहयोग गरिरहेको जानकारी समेत दिए । 

‘मानव निर्मित सम्पदाले धनी काठमाडौँ सांस्कृतिक सहर हो । काठमाडौँ महानगरलाई मूर्त–अमूर्त सम्पदाले सुन्दर बनाएको छ,’ शाक्यले भने, ‘सहरभित्रका सम्पदालाई काठमाडौंबाहिरका सम्पदासँग जोडेर पर्यटन क्षेत्रको विकास गर्ने र यसबाट स्थानीयको आयमा समेत वृद्धि गर्ने योजना अनुसार केही दिन अघि मात्रै हामीले लुम्बिनी प्रदेशको रामग्राम नगरसँग भगिनी सम्बन्ध स्थापना गरेका छौं । यसै गरी भगवान वुद्धको मावली घर भएको पण्डितपुरमा कोलिय शान्तिपार्क निर्माण गर्न १ करोड ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेका छौँ ।’ 

सम्पदा क्षेत्रको व्यवस्थापनमा गरिएको त्यो लगानीले पर्यटन उद्योगमार्फत राष्ट्रिय समृद्धिमा टेवा पुग्ने अपेक्षा लिएको पनि बताए । 

‘स्थानीयलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान गराउन हामीले लुम्बिनीमा नेपाली बिहार निर्माण गर्न चार करोड २० लाख सहयोग गरेका छौँ,’ उनले भने, ‘काममाडौं महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण र हरियाली विकास गर्न नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौंका सबै नगरसहित मध्यपुरथिमिमा शंखधरपार्क निर्माणका लागि पनि सहयोग गरेको छ ।’ 

विहारको विस्तारित भवनको लागत ४ करोड २८ लाख रुपैयाँ हो । त्यसमध्ये पहिलो चरणमा करीब १ करोड लागतका काम हुनेछ । विस्तारित भवन निर्माण उपभोक्ता समितिका संयोृजक अभयरत्न कंसाकारले भने, ‘पहिलो चरणमा लाग्ने कुल ९९ लाख ९९ हजार १६५ रुपैयाँको १५ प्रतिशत अर्थात् १४ लाख ९९ हजार ८७४ रुपैयाँ उपभोक्ता समितिले व्यहोर्नेछ । बाँकी ८५ प्रतिशत अर्थात् ८४ लाख ९९ हजार २९० रुपैयाँ महानगरको सहयोग हुनेछ ।’ 

सुझावित समाचार