नेकपाको निर्माण दुई पार्टीको एकीकरण होइन, दुई नेताको सम्झौता मात्र थियो

बुधबार, १८ कार्तिक, २०७७
डिजिटल संस्करण

कृष्ण खनाल, राजनीतिक विश्लेषक

देशको नेतृत्व गर्ने जिम्मेवारी पाएका नेकपा आफ्नै पार्टीको झमेला पनि थेग्न नसक्ने अवस्थामा पुगेको छ । प्रचण्ड–नेपाल समूहले पार्टीको बहुमतका आधारमा प्रधानमन्त्रीलाई निर्देशित गर्न खोजिरहेको छ भने ओलीले बहुमतका आधारमा कुनै कदम चालिए झन् ठूलो ‘एक्सन’ लिने बताउनुभएको छ, प्रधानमन्त्रीले लिने ‘एक्सन’ के होला ? 

देशको प्रधानमन्त्रीका रूपमा अथवा नेकपाको अध्यक्षका रूपमा उहाँले चाल्न सक्ने दुई–तीनवटा बाटो हुन सक्छन् । सरकारबारे उहाँलाई जे लाग्छ, मन्त्रिपरिषद्का विषयमा आफूखुसी निर्णय गरेर यही हो मेरो बाटो भनेर अगाडि जान सक्नुहुन्छ । पार्टीमा पनि उहाँ एक्लैले निर्णय गर्न सक्ने कुरा छैन, तर उहाँले जुन प्रकारको एकताको अथवा एकताको जुन भ्रम सिर्जना भएको छ, त्यसको पनि अन्त्य गर्न सक्नुहुन्छ । उहाँले पार्टी र सरकारमा एकलौटी रूपमा मलाई कोही चाहिएन, जो सहमत हुने हो, मसँग आऊ, अरूको मलाई थाहा छैन भनेर अघि जान सक्ने बाटो पनि हुन सक्छ । 

पार्टीबाट जिम्मेवार दिएर प्रधानमन्त्री बनाएपछि सरकारको कामको विषयमा पार्टीले पटक–पटक प्रश्न गर्न मिल्छ कि मिल्दैन ? 

नेकपाले आफ्नो पार्टीको प्रतिनिधित्व गर्ने प्रधानमन्त्रीको कामको समीक्षा गर्न सक्दछ । सरकारको आधा समय बितिसकेको छ, यतिवेलासम्म पार्टीले चुनावका वेला गरेको वाचा–प्रतिज्ञा सरकारले पूरा गर्न सकेको छ कि छैन भनेर मूल्यांकन गर्न, छलफल गर्न सक्छ । कामै गर्न सकेको छैन भने उसले बीचैमा तपाईंले गर्न सक्नुभएन, हट्नुप¥यो भनेर पनि भन्न सक्छ । तर, अहिले नेकपाको बोलीमा यी कुरा प्रस्ट छैनन् । संसदीय दलमा योअनुसार प्रस्ताव पुगेकोे देखिएको छैन । प्रधानमन्त्रीले साह्रै नै विधिविधान मिचेर आफूखुसी हिँडेका छन् भने नेकपाले प्रधानमन्त्रीलाई अनुशासनको कारबाही गर्न सक्छ । त्यो पाटोमा पनि नेकपा स्पष्ट देखिएको छैन । खाली एकले अर्कालाई गलाउने हिसाबले मात्रै चलखेल भइरहेको छ । यसले गर्दा प्रणाली नै ध्वस्त हुन्छ कि भन्ने अवस्था निर्माण भएको छ । 
नेकपामा जे–जस्तो विवाद छ, यो कसरी टुंगिन्छ जस्तो लाग्छ ?

अहिले हामी जुन अभ्यासमा छौँ, जुन लोकतान्त्रिक संवैधानिक अभ्यासमा छौँ, यसमा पार्टीको विवादलाई टुंग्याउने दुईवटा माध्यम हुन् । यदि नेतृत्वकै प्रश्न हो, प्रधानमन्त्रीकै कुरा हो भने त्यो संसदीय दलबाट टुंग्याउनुपर्दछ । नेकपा भित्र साच्चै ओलीलाई कसैले चुनौती दिन खोजेको हो भने संसदीय दलमा प्रधानमन्त्रीलाई चुनौती दिनुप¥यो । र, त्यो सामना उहाँले संसदीय दलभित्रै बहुमत भएर गर्नुपर्छ । बहुमत पुगेन भने विश्राम लिनुपर्छ । उहाँले बहुमत ल्याएमा अर्को पक्षले त्यसलाई स्वीकार गर्नुप¥यो । र, योचाहिँ सामान्य लोकतान्त्रिक मान्यताअनुसार स्थापित एउटा उपाय हुन सक्छ । प्रधानमन्त्रीले म आफैँ विश्वासको मत लिन्छु भनेर संसद्मा सीधै जान पनि सक्नुहुन्छ । संसद्बाट विश्वासको मत लिएमा यो विषय टुंगो लाग्न सक्छ । अर्कोचाहिँ, वेलावेलामा संसद् विघटनको हल्ला गर्छन्, तर संविधानले संसद् विघटनको अधिकार दिएको छैन । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गर्ने भनेको संविधानविपरीतको हो, संवैधानिक रूपमा त्यो सम्भव नै छैन । अब संविधानले नदिएको बाटो जाने भए त संवैधानिक प्रणाली नै भत्किहाल्छ नि ! 

पार्टी विभाजनको चर्चा पनि छ, त्यो जोखिम कति छ ?

अहिलको सबै गतिविधिले त एकता त भ्रम मात्रै रहेछ भन्ने त देखाउँछन् नि ! त्यो भ्रम नै मात्र भएपछि त टुट्नुफुट्नु त कुन ठूलो कुरा भयो र ? स्वाभाविक रूपमा नेकपाको एकता भएको होइन । एउटा विशेष परिस्थितिमा चुनावमा बहुमत ल्याउने हिसाबले नेकपा गठबन्धन भयो । तर, त्यो गठबन्धन गर्दा एकता गर्छु भनेर वार्ता गरेर गठबन्धन गरिएको हो । त्यसपछि एकता पनि भयो । त्यसवेला दुईवटा मुख्य कम्युनिस्ट पार्टीहरूका बीचमा एकता हुँदा सत्तासाझेदारीको केही कुरा थिए होला नि त ! यो त अब सबैले थाहा पाएकै कुरा पनि हो, लिखित तमसुकै गरेको कुरा बाहिर आयो । जब दुई ठूला शक्तिहरूका बीचमा एकता हुन्छ, त्यहाँ आन्तरिक सत्तासाझेदारीका कुरा पक्कै हुन्छन् । त्योअनुसार अहिले नेकपामा देखिएको विवाद दलभित्रको सत्तासाझेदारीको समस्या पनि हो । हिजो आधाआधा भनेको कुरा त बाहिर आएकै छ नि त ! त्यसैले एकता भनिए पनि यो विषय नेकपा एमाले र नेकपा माओवादी केन्द्रका दुईजना नेताहरूले सत्तासाझेदारीका लागि गरेको गठबन्धन हो भन्ने त देखिन्छ । फेरि दुईवटा पार्टीमा व्यापक छलफल भएर आएको कुरा पनि होइन नि ! नेकपा एकताको सबैभन्दा कमजोर कडी भनेकै दुईजना मान्छेले गरेको सम्झौता हो, दुईवटा पार्टीले गरेको एकीकरण होइन । त्यसवेला एमालेले पनि छलफल गरेन, माओवादीले पनि छलफल गरेन । गोप्य कारोबारको प्रतिफल पनि हो ।

सुझावित समाचार