उचाइमा पुग्दा प्रफिट बुकिङमा सेयर लगानीकर्ता, १३ अंकले घट्यो नेप्से

सोमबार, २६ असोज, २०७७
डिजिटल संस्करण

आइतबार १ हजार ५ सय ९४ मा खुलेको बजारले त्यही बिन्दुलाई नै उच्च बनायो । १ हजार ५ सय ७४ सम्म पुगेको नेप्से केही फर्किएर १ हजार ५ सय ७६ दशमलव २७ मा आइपुगेको छ । अघिल्लो दिनको तुलनामा भने नेप्से १३ अंकले घट्यो । 

अन्ततः नेप्सेको मैनबत्ती चित्रले थ्री आउट साइड बियरिस प्रवृत्ति बनाएको छ । ३ कारोबार दिनमा पहिलो दिन सेतो, दोस्रो र तेस्रो दिन कालोे मैनबत्ती आकृति बनाएको छ । पहिलो २ दिनमा सेतो मैनबत्तीको पूरै शरीर ढाकेर कालो मैनबत्ती बनेको छ । अन्तिम दिन केही तल अर्को कालो मैनबत्ती बनेको छ । यो थ्री आउट साइड बियरिस प्रवृत्तिले केही दिन बजार घट्ने सुनिश्चित गर्छ । 

यस दिन कारोबारमा आएका १ सय ९३ कम्पनीमा ३२ को बढ्यो, १ सय ३२ को घट्यो र ५ को स्थिर भयो । बढेको संख्या र घटेको संख्या आधारमा निकालिएको एडभान्स र डिक्लाइन रेसियोले समेत यस दिन बजार बियरिस रहेको संकेत गर्छ । 

कारोबार रकममा भने खासै कमी आएको छैन । यस दिन २ अर्ब ३९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । १ सय ३२ मा ४० वटाको मात्रै २ प्रतिशतभन्दा धेरैले मूल्य घटेको छ भने अन्यको सोभन्दा कमले घटेको छ । बजारमा तीव्र मोलमोलाइ चलिरहेको छ । वित्तबाहेक सबै समूहको परिसूचक घटे पनि जलविद्युत् समूहमा भने लगानी भइरहेकै छ । कारोबार रकमका आधारमा प्रमुख ५ मा ४ वटा यही समूहबाट छन् । 

श्रीइन्भेस्टमेन्ट, आइसिएफसी, जानकी र रिलायन्स फाइनान्सको सेयरमूल्य करिब ६ प्रतिशतदेखि करिब ९ प्रतिशतसम्म बढेको छ । जानकी, श्रीइन्भेस्टमेन्ट र आइसिएफसीले यसअघि क्रमशः १३, १३ र २३ प्रतिशत लाभांश वितरण गरेको थियो । बजारमा वित्त कम्पनीमा राम्रा मानिने भए पनि गत आवमा यी तीनवटै कम्पनीको नाफा केही घटेको थियो । 

आकर्षक लाभांश दिइरहेको जानकीको भने खराब कर्जा करिब ३ प्रतिशत हाराहारी पुगेको वित्तीय विवरण सार्वजनिक भएपछि लगानीकर्ता केही हच्किएका थिए । यद्यपि, कम्पनीको वार्षिक कमाइ (प्रतिसेयर आम्दानी) को तुलनामा लगानीकर्ताले धेरै गुणा मूल्य हालेको देखिँदैन । मूल्य आम्दानी अनुपात १६ पुगेको छ । कम्पनीले कमाएको १ रुपैयाँका लागि लगानीकर्ताले तिरेको मूल्य यसले देखाउँछ । यो दर २० देखि ३० सम्म हुँदा ठिकै मानिन्छ । अन्य सूचक सकारात्मक हुँदाहुँदै पनि खराब कर्जाको वृद्धिदरलाई भने ध्यान दिनैपर्छ ।

समग्रमा वित्त समूहको परिसूचक भने २ प्रतिशतले वृद्धि भएको छ । यस दिन बजारमा हिमालयन बैंकको ८५ लाख २० हजार कित्ता बोनस सेयर थपिएको छ । त्यस्तै, आरएसडिसी लघुवित्तले ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागिसमेत ३ दशमलव ६३ प्रतिशत नगद लाभांशको घोषणा गरेको छ । कम्पनीको १४ रुपैयाँले सेयर मूल्य बढेको छ । 

सुझावित समाचार