बलात्कारका घटना बढिरहँदासमेत सरकारले दोषीलाई कारबाही गर्न नसकेको भन्दै जनकपुरमा युवाले विरोध प्रदर्शन गरेका छन् । ‘पोलपोलमा सरकार, टोलटोलमा बलात्कार’लगायतका प्लेकार्ड बोकेरउनीहरूले प्रदर्शन गरेका हुन् ।
बलात्कारका घटनामा बढिरहे पनि सरकार पोलपोलमा प्रशंसाको पोस्टर झुन्ड्याएर बसेको उनीहरूको आरोप छ । संविधान संशोधन गरी दोषीलाई मृत्युदण्डसम्मको व्यवस्था हुनुपर्ने उनीहरूले माग गरेको छ ।
बढ्दै गएको बलात्कारका घटनालाई रोक्न तथा दोषीलाई कानुनी दायरामा ल्याउन सरकार असफल रहेकाे भन्दै बलात्कारविरुद्ध युवा संगठनले प्रदर्शन गरेको हो ।
युवाहरू जनकचोकबाट जुलुससहित जिल्ला प्रहरी कार्यालयअगाडि पुगेर धर्ना दिएका थिए । उनीहरूले केही दिनअघि धनुषाका धनुषाधाम नगरपालिका– ४ की १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको घटनामा संलग्नलाई कडा कारबाहीको मागसमेत गरेका छन् । घटनामा संलग्न भएको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । अन्य भने फरार छन् । फरार अभियुक्तलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन युवाहरूको माग छ ।
बलात्कारविरुद्ध युवा संगठनका सदस्य गुजा रायले बढ्दै गएको बलात्कारका घटनालाई नियन्त्रण गर्न सरकारले संविधान संशाेधन गरी बलात्कारीलाई फाँसीको सजायको व्यवस्था गर्नुपर्ने बताए ।
अढाई महिनामा प्रदेश २ मा ८७ वटा बलात्कारका घटना
पछिल्लो अढाई महिनामा प्रदेश २ मा मात्रै ८७ वटा बलात्कारका घटना भएका छन् । प्रदेश २ प्रहरी कार्यालय जनकपुरका अनुसार पछिल्लो अढाई महिनामा बलात्कारका ८७ वटा घटना प्रहरी कार्यालयमा दर्ता भएका छन् ।
८७ मध्ये ७६ वटा घटनामा मुद्दा चलिरहेको छ भने बाँकी घटनामा अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । १५ साउनदेखि १५ असोजसम्म महोत्तरीमा १६, सिराहामा १५, धनुषा र सप्तरीमा १२–१२, रौतहटमा ११, सर्लाहीमा नाै, पर्सामा सात र बारामा पाँचवटा उजुरी दर्ता भएका छन् ।