राजधानीमा चोरीको नयाँ तरिका : बालबालिकालाई ललाइफकाई गहना लुटपाट

शुक्रबार, ९ असोज, २०७७
डिजिटल संस्करण

बौद्धस्थित फूलबारीका १० वर्षीय हाङ्जी लामा १७ साउनमा साथीसँग खेल्न सडकमा निस्किएका थिए । एक अपरिचित महिला उनको नजिक आइन् । ‘तिम्रो ममीलाई चिन्छु नि’ भन्दै उनकी आमाको नाम लिइन् । उनले ‘जाऊँ आइसक्रिम खान, म किनिदिन्छु’ भन्दै हाङ्जीलाई सकडको छेउतिर लगिन् । सडकछेउमा पुगेपछि ‘हेर नानी ! कानमा गहना लाउन हुन्न नि, जोगीले लग्छ, फुकाल त ! म ममीलाई लगेर दिन्छु’ भन्दै हाङ्जीको कान सुमसुम्याइन् । उनको कानको मुन्द्रा खोलेर क्षणभरमै बेपत्ता भइन् । 

जडीबुटीका नौ वर्षीया अनिसा तोलाङे ६ वर्षीया बहिनी दीपिकासँगै ११ साउन दिउँसो सडकमा खेल्दै थिइन् । सामुन्ने आएकी एक अपरिचित महिलाले ‘कति क्युट नानी, आऊ त । म चकलेट किनिदिन्छु’ भन्दै लोलोपोतो गरिन् । आमाको नाम लिएपछि अनिसा पनि बहिनी दीपिकासँगै चकलेट खान उनको पछि लागिन् । मान्छे नभएको ठाउँमा पुगेपछि ‘कानको मुन्द्री खोला त, यो सानो भएछ, म ठूलो किनिदिन्छु’ भन्दै अनिसा र दीपिकाको कानको मुन्द्री खोलिन् । चकलेट खान पाउने लोभले दुवैजना चुपचाप बसे, तर मुन्द्रीसहित ती महिला अलपत्र भइन् । 

११ साउनमा चार वर्षीय सियुक कार्की सुकेधारास्थित चौरमा साथीभाइसँगै खेल्दै थिए । ‘तिम्रो बाबाको नाम गोपाल कार्की होइन ? आउन म आइसक्रिम किनिदिन्छु’ भन्दै एक अपरिचित युवक सियुकनजिक पुगे । बाबाको नाम लिएपछि सियुक पनि ती युवकसँग नजिकिए । उनले सियुकलाई काखमा च्यापेर पसलमा लगे । आइसक्रिम पनि किनिदिए । गाला सुमसुम्याउँदै कानको मुन्द्रा झिकेर सियुकलाई त्यहीँ छाडी केहीबेरमै त्यहाँबाट हिँडे । 
लकडाउन खुकुलो भएपछिको करिब महिना दिनयता अपराध अनुसन्धान महाशाखामा परेका जाहेरीका केही उदाहरण हुन् यी । जाहेरीमा उल्लेखित तीनै घटना फरकफरक स्थान र मितिका भए पनि पीडित एकै उमेर समूहका बालबालिका छन् र लुटपाटको ‘ट्रेन्ड’ पनि एउटै छ । विश्लेषणपछि प्रहरीले निष्कर्ष निकालेको छ– लुटपाटमा एकै व्यक्ति वा समूहको संलग्नता छ । 

अनुसन्धानलाई सहज बनाउन महाशाखाले ६ साउनदेखि १ भदौसम्म काठमाडौंमा भएका लुटपाटसँग सम्बन्धित सबै घटनाका जाहेरी संकलन ग¥यो । विश्लेषण गर्दा महिना दिनभित्र सोही विधिबाट मात्रै लुटपाटका पाँच घटना भएको देखियो । त्यसमा पनि धेरै घटना बौद्ध आसपासका क्षेत्रमा भएका थिए । त्यसपछि महानगरीय प्रहरी वृत्त बौद्धले शंकास्पद स्थानमा गोप्य ढंगले ‘एम्बुस’ थाप्यो ।

त्यही क्रममा ६ भदौ अपराह्न जोरपाटी मालबारीबाट ३२ वर्षीय संगीता क्षेत्रीलाई प्रहरीले पक्राउ ग¥यो । अनुसन्धानपछि खुल्यो, बालबालिकाको कानमा लगाइएका गहना लुट्ने घटनामा उनै संगीता संलग्न रहिछिन् । अपराध अनुसन्धान महाशाखाका अनुसार संगीताले केही वर्षयता त्यही विधिबाट उपत्यकामा मात्रै २२ स्थानमा लुटपाट गरेकी रहिछिन् । 

लुटपाटपछि सुनका गहना जम्मा गर्ने र सुनचाँदी पसलमा लगरे बेच्ने गरेको खुलेको महाशाखा प्रमुख एसएसपी दीपक थापाले बताए । ‘एउटै प्रकृतिका लुटपाटका जाहेरी आए । विश्लेषण ग¥यौँ । घटनामा पक्कै पनि एकै व्यक्ति वा समूह संलग्न हुन सक्ने निचोड निस्क्यो,’ एसएसपी थापाले नयाँ पत्रिकासँग भने, ‘धेरै घटना भएको बौद्ध आसपासको क्षेत्रमा स्थानीय प्रहरीलाई प्रयोग ग¥यौँ । अभियुक्त पक्राउ परेपछि २२ वटा घटनामा संलग्न भएको पाइयो ।’

प्रहरीका अनुसार संगीताविरुद्ध २२ वटा जाहेरी नै परेका छन् । सम्बन्धविच्छेद भएपछि उनी एक्लै बस्दै आएकी थिइन् । सुरुमा घरेलु काम गर्दै आएकी उनी केही वर्षदेखि लुटपाटमा संलग्न भएको पाइएको प्रहरीले जनाएको छ । लुटपाटका लागि सूचना संकलन गर्न घरेलु मजदुरका रूपमा घरघर जाने गरेको खुलेको एसएसपी थापाले बताए । 

प्रहरीका अनुसार गहना किन्ने र गालेर बेच्ने कालिगढ पनि पक्राउ परेका छन् । उनले ललितपुरको कनिबहालस्थित काभ्रेका मुल्ली विकको प्रशोधन केन्द्रमा लगेर बेच्ने गरेको पाइएको प्रहरीले जनाएको छ । उनले प्रतितोला १० हजारमा बेच्ने गरेको प्रहरीको भनाइ छ । केही वर्षदेखि यस्तो गहना खरिद गर्दै आएका विकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

सुझावित समाचार