रुकुम पश्चिममा अहिलेसम्मकै धेरै २३ जना कोरोना संक्रमित थपिए

शुक्रबार, २ असोज, २०७७
डिजिटल संस्करण

रुकुम पश्चिममा शुक्रबार अहिलेसम्मकै बढी २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

संक्रमित सबै चौरजहारी नगरपालिकाका हुन् । संक्रमितमध्ये १४ जना पुरुष र नाैजना महिला रहेका छन् । चौरजहारी प्रयोगशालामा एक सय ३९ जनाको पिसिआर टेस्ट गरिएकाेमा आज २३ जनामा कोरोना संक्रमण देखिएको हो ।

चौरजहारी नगरपालिकाका विभिन्न वडाहरूमा स्थायी ठेगाना भएका केही दिनअगाडि भारतबाट आई आइसोलेसनमा बसेका ११ जना पुरुष र सातजना महिला गरी जम्मा १८ जना, काठमाडौंदेखि आएका एकजना पुरुष र बाँकी दुईजना पुरुष तथा दुईजना महिला गरी चारजना र कन्ट्रयाक्ट ट्रेसिङका आधारमा पिसिआर परीक्षण गरिएको नगरपालिकाले जनाएको छ । 

नयाँ संक्रमितहरू वडा नं. २ का एकजना, ३ नं. वडाका दुईजना, ४ नं. वडाका दुईजना, ६ नं. वडाका  ६ जना, ७ नं. वडाका ७ जना, ९ नं. वडाका २ जना, १२ नं. वडाका दुईजना र १४ नं. वडाका एकजना रहेका छन् । उनीहरूलाई नगरपालिकामा रहेका आइसोलेसनमा राखिएको छ । 

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ९४ पुगेको छ । जसमध्ये ६२ जना कोरोना जितेर घर फर्किसकेका छन् । 
३२ जना सक्रिय संक्रमितहरू जिल्लाका विभिन्न आइसोलेसनमा रहेका छन् ।

उनीहरूको पनि स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

सुझावित समाचार