लागुऔषध सेवन गर्न भारत पुगेका नेपाली युवा गोली प्रहारबाट घाइते

सोमबार, २९ भदौ, २०७७
डिजिटल संस्करण

सिल भएको नेपाल–भारत सिमानाबाट लागुऔषध सेवन गर्न भारत पुगेका एक नेपाली युवा भारतीय युवाले प्रहार गरेको गोली लागेर घाइते भएका छन् ।   

विराटनगर– १७ मटेर्वा नाकाबाट आइतबार अपराह्न लागुऔषध सेवन गर्न भारतीय बजार जोगबनी पुगेका विराटनगर– १२ का २४ वर्षीय दीपक मण्डल भारतीय युवा मुकेश यादवले प्रहार गरेको गोली लागेर सामान्य घाइते भएका हुन ।   

इलाका प्रहरी रानीका इन्स्पेक्टर राजेश थापाका अनुसार गोली प्रहारबाट मण्डलको दायाँ  खुट्टाको औंलामा चोट लागेको छ । 

लागुऔषध  सेवन गरेका मण्डलमाथि लागुऔषध कारोबारमा संलग्न भारतीय नागरिक मुकेश यादवले लेनदेनको आपसी विवादमा गोली प्रहार गरेको हुन सक्ने प्रहरीको भनाइ छ । 

गोली प्रहार भएपछि स्थानीयले भारतको जोगबनी बजारमै रहेको क्लिनिकमा उपचारका लागि मण्डललाई पुऱ्याएका थिए । तर, त्यहाँ पनि लेनदेनको विषयमा भारतीय युवाले हवाईफायर गरेपछि मण्डल भागेर साँझ नेपाल आएका थिए । 

प्रहरीले मण्डललाई विराटनगर रोडशेष चौकबाट नियन्त्रणमा लिएर उपचारका लागि कोसी अस्पताल पठाएको थियो । हाल उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय रानीका निरीक्षक राजेश थापाका अनुसार नेपाली युवा मण्डल पनि लागुऔषध सेवन र ओसारपसारमा संलग्न व्यक्त्ति हुन् । 

उनीबाट लागुऔषध बरामद नभएकोले उनलाई यसअघि सम्झाएर छाडिएको प्रहरीले जनाएको छ । साथै घटना भारतमा भएकोले छानबिन गर्न भारतीय प्रहरीलाई आग्रह गरिएको प्रहरीले जनाएको छ ।

सुझावित समाचार