भारत जाने र भारतबाट फर्कनेको सीमानाकामा घुइँचो (फोटोफिचर)

आइतबार, २१ भदौ, २०७७
डिजिटल संस्करण

रोजगारीका लागि भारतमा रहेका नेपाली स्वदेश फर्कने क्रम अझै रोकिएको छैन । भारतीय नाका गौरीफन्टाबाट मात्रै आइतबार सयौँ सर्वसाधारण नेपाल प्रवेश गरेका छन् । भारतमा कोरोना संक्रमण दर तीव्र भएपछि उनीहरू नेपाल फर्किएका हुन् । यद्यपि यो नाकाबाट नेपाल आउने र रोजगारीका लागि भारत जानेको संख्या बराबरी नै छ । 

सिमामा खटिएको सशस्त्र प्रहरीका अनुसार आइतबार यस नाकाबाट तीन सय १० जना नेपाली भित्रिएका छन् भने तीन सय ३२ जना भारततर्फ गएका छन् । दशैँ–तिहारजस्ता चाडपर्व नजिकिन थालेकाले पनि पर्व मनाउन भारत गएका नेपाली घर फर्कन थालेका हुन् । घर फर्कनेहरूले भने कोरोनाको त्रासले आएको बताएका छन् । 

असारयता स्वदेश फर्कने नेपालीको संख्या तुलनात्मक रूपमा कम भए पनि केही दिनयता नाकामा चहलपहल बढेको सुरक्षाकर्मीहरूले बताएका छन् ।
फर्कनेमध्ये अधिकांश सुदूरपश्चिमका छन् । फागुनयता मात्रै सुदूरपश्चिमका विभिन्न नाकाबाट साढे दुई लाखभन्दा बढी नेपाली भित्रिएका सुरक्षा निकायको तथ्यांक छ । घर फर्कनेको घुइँचो लाग्न थालेपछि उनीहरूलाई गन्तव्यसम्म पुऱ्याउन बसहरू नाकामै पुग्ने गरेका छन् । 

गौरीफन्टावारि नेपालतर्फको त्रिनगर नाकाबाट कतिपय नेपाली रिक्सा चढेर धनगढीसम्म आउने गरेका छन् । विदेशबाट फर्केकालाई १४ दिन अनिवार्य रूपमा क्वारेन्टिनमा राख्नुपर्ने सरकारले व्यवस्था गरेपछि हिजोआज भारतबाट फर्केका नेपालीहरू सीधै घर जाने गरेका छन् । नाका व्यवस्थित नहुँदा र सीधै घर जाँदा समुदायमा पनि कोरोना संक्रमण फैलन सक्ने जोखिम बढेको चिकित्सकहरू बताउँछन् । 

सुझावित समाचार