रसुवामा त्रिशूली थ्री बी जलविद्युत् आयोजनाको लापरबाहीका कारण अन्तर्राष्ट्रिय नाका जोड्ने व्यापारिक सडक नै भासिएको छ । गल्छी–त्रिशूली–मैलुङ सडकखण्डको शान्तिबजारनजिकै त्रिशूली थ्री बी जलविद्युत् आयोजनाले फाउन्डेसन खन्दा सडक भासिएको हो ।
आयोजनाको पावरहाउस मुनि टेलरेसबाट पानी लाने गरी बनाउन लागिएको संरचनाको फाउन्डेसन खनिएकोमा वर्षा अगावै पुर्न नसक्दा गल्छी–त्रिशूली–मैलुङ सडकखण्डको शान्तिबजारनजिकै सडक भासिएको हो । वर्षाअघि नै निर्माण कार्य सकेर फाउन्डेसन पुर्नुपर्नेमा खनिएपछि मर्मत नगर्दा सडक भासिएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक आयोजनाले जनाएको छ ।
झन्डै तीन सय मिटर सडक भासिएको आयोजना प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए । ‘गल्छी–त्रिशूली–मैलुङ सडकखण्डको चेनेज ४१ं३२५ कि.मि. देखि ४१ं६२५ किमिसम्म सडकको मुनि जलविद्युत् आयोजनाले आफ्नो निर्माणको काम पूरा नगर्दा सडक भासिएको छ,’ उनले भने, ‘वर्षायामअघि नै सडकको कुना चेपेर बनाइएको थियो, वर्षायाममा जोखिम हुन्छ भन्ने थाहा हुँदाहुँदै निर्माणको काम गरिएन, त्यहीकारण सडक भासिँदा सवारी आवजावत नै बन्द भएको छ ।’
जलविद्युत् आयोजनाका कारण वर्षायाममा अवरुद्ध मैलुङ–स्याफ्रुबेसी सडक सुचारु गर्न नसकिएको उनले बताए । अन्तर्राष्ट्रिय व्यापारिक नाका जोड्ने सडक भएकाले क्षतिग्रस्त सडक तत्काल मर्मत गरिदिन योजनाले शुक्रबार त्रिशूली थ्री बी आयोजनालाई पत्र पठाएको छ । उक्त सडकखण्ड पहिलेकै अवस्थामा ल्याउन ठूलो धनराशि खर्च हुने र क्षतिको जिम्मेवारी लिन नसक्ने भन्दै योजनाले थप कुनै संरचना बनाउन नपर्ने गरी निर्माण गरिदिन पत्रमार्फत आग्रह गरेको छ । ‘यातायात सञ्चालन गर्न ठूलो धनराशि राज्यकोषबाट खर्च गर्न मिल्दैन, किनकि थ्री बीका कारण बाटो क्षति हुन पुगेको छ,’ भण्डारीले भने, ‘सवारी सञ्चालन हाल निजी जग्गाबाट अस्थायी एवं आकस्मिक रूपमा प्रयोग गरिए पनि लामो समयसम्म निजी जग्गाबाट मिल्दैन, त्यसैले तुरुन्तै सडक मर्मत गरिदिनुपर्ने हुन्छ ।’
त्रिशूली थ्री बी जलविद्युत् आयोजनाकै कारण सडक भासिएकोबारे नयाँ पत्रिकासँगको कुराकानीमा आयोजनाका प्रोजेक्ट म्यानेजर आनन्द ढुंगेलले स्वीकार गरेका छन् । स्टक्चर निर्माणका लागि गत फागुनमा नै खनेको र त्यतिवेला कामदार चीन गएको र कोरोनाका कारण फर्कन नसक्दा निर्माणको काम गर्न नपाएको उनले बताए । ‘स्टक्चर बनाउन फागुनमा खनेको थियो, चिनियाँ कामदार त्यतिवेला चीन गएका थिए । पछि कोभिडले गर्दा फर्कन सकेनन्, त्यसैले बक्स कल्भर्ड बनाउन सकेनौँ । त्यसैले वर्षाको समयमा सडक भासिएको हो,’ उनले भने, ‘सडक भासिए पनि नियमित सडक सुचारु राख्नका लागि छेउमै क्रसर रहेको छ र उहाँहरूसँग समन्वय गरेर वर्षायामभरका लागि वैकल्पिक बाटो व्यवस्था गरिएको छ, अहिले सवारी रोकिएको छैन ।’
मनसुन सकिएसँगै बाटो निर्माण गरिदिनेसमेत उनले बताए । ‘क्रसरसँग समन्वय गरेर सवारी आवतजावतको व्यवस्था मिलाइएको छ । भासिएको ठाउँ मर्मत गर्छौँ । त्यो ठाउँमा वर्षायाममा काम गर्न पनि गाह्रो थियो,’ उनले भने, ‘भदौ अन्तिममा मनसुन सकिन्छ होला, त्यसपछि बाटो मर्मत गरिदिन्छौँ ।’
अविरल वर्षाका कारण मैलुङदेखि स्याफ्रुबेसीसम्मको विभिन्न स्थानमा पहिरो जाँदा गत साउनदेखि नै सडक अवरुद्ध छ । मनसुन सकिन लागेको र सडक सुचारु गर्न आफूहरू लागिपरेको योजनाका प्रमुख भण्डारीले बताए ।
राष्ट्रिय प्राथमिकता प्राप्त मैलुङ–स्याफ्रुबेसी सडकखण्ड नेपाली सेनाले निर्माण गरेको डबल लेनको सडक हो । सो सडक खण्डको लम्बाइ १७ किलोमिटर रहेको छ । यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो छ । बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ भने बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ । पासाङल्हामु राजमार्गअन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नुपर्ने भए पनि यो सडकमा एउटा पनि घुम्ती छैन ।
काठमाडौंदेखि गल्छी ४४ किलाेमिटर, गल्छीदेखि बट्टार २२ किलाेमिटर, बट्टारदेखि बेत्रावती ११ किलाेमिटर, बेत्रावतीदेखि मैलुङ १२ किलाेमिटर र मैलुङदेखि स्याफ्र १७ किलाेमिटर छ । काठमाडौंबाट बेत्रावती–धुन्चे–रसुवागढीको दूरी १४५ किलोमिटर छ भने काठमाडाैंबाट बेत्रावती मैलुङ हुँदै रसुवागढी जोड्ने सडकको दूरी १२२ किलोमिटर मात्र छ । बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेंसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भए पनि मैलुङतर्फबाट हिँड्नका लागि कुनै पनि घुम्ती पार गर्नुपर्दैन ।