सिराहा/ सिराहामा नक्कली नेपाली नोटजस्ता देखिने रकमसहित दुईजना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार कात्तिक १३ गते राति करिब ९ बजे सिराहा नगरपालिका–७ स्थित महावीर चोकदेखि शिवचोक जाने हुलाकी सडकखण्डमा शंकास्पद रूपमा पैदल हिँडिरहेका दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिराहाबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा कल्याणपुर नगरपालिका–८ निवासी ३५ वर्षीय मोहमद मुस्तुफा हुसेन र ३२ वर्षीय समीर मियाको साथबाट नक्कली नोटजस्तो देखिने रकम बरामद गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूको साथबाट पाँच सय रुपैयाँ दरका तीन थान र एक हजार रुपैयाँ दरका २४ थान गरी जम्मा २७ थान नोट बरामद भएको छ। बरामद नोटको कुल अंकित मूल्य २५ हजार पाँच सय रुपैयाँ रहेको छ।
दुवैजनालाई बरामद रकमसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिराहामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।