वैदेशिक रोजगारीको प्रलोभनमा लाखौँ ठगी गरेको आरोपमा दुईजना पक्राउ

मंगलबार, १३ असोज, २०८३
डिजिटल संस्करण

आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देशमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका– २६ बस्ने लमजुङ दोर्दी गाउँपालिका–८ का ४५ वर्षीय खर्वा तामाङ र काठमाडौंको तारकेश्वर नगरपालिका– ६ बस्ने धादिङ नेत्रावती डबजोङ गाउँपालिका– ५ का ३१ वर्षीय ईश्वर खतिवडा रहेका छन्।

प्रहरीका अनुसार खर्वा तामाङले जापान पठाइदिने भन्दै एकजना पीडितबाट नाै लाख रुपैयाँ लिएका थिए। त्यसैगरी, ईश्वर खतिवडाले स्लोभेनिया र माल्दिभ्स पठाइदिने भन्दै २५ जना पीडितबाट ८५ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरी परेको थियो।

पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले तामाङलाई शनिबार काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको हो। खतिवडालाई भने बिहीबार काठमाडौं महानगरपालिका– २६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

सुझावित समाचार