संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन चार दिनअघि न्युयोर्क गएका प्रधानमन्त्री बालेन्द्र शाह शनिबार स्वदेश फर्केका छन् । औपचारिक बिदाइ र सैनिक सम्मान गारतविना गएका प्रधानमन्त्री शाहको फिर्ता पनि साधारण रूपमै भएको छ । उनी विनातामझाम गए र त्यसैगरी स्वदेश फर्किएका छन् ।
कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ र पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विमान पार्किङ क्षेत्रमा प्रधानमन्त्री शाहलाई स्वागत गरे । विमान पार्किङ क्षेत्रबाट उनी सिधै गाडी चढेर प्रधानमन्त्रीनिवास बालुवाटार प्रस्थान गरे ।
प्रधानमन्त्री शाहले न्युयोर्कमा बिहीबार राति संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेससँग भेटवार्ता गरेका थिए । शुक्रबार बिहान महासभाको प्रतीक्षा कक्षमा बसेका वेला प्रधानमन्त्री शाहको अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी एल्बानिजसँग जम्काभेट र संक्षिप्त कुराकानी भएको थियो ।
प्रधानमन्त्री शाहले शुक्रबार बिहान महासभालाई सम्बोधन गरेका थिए । सम्बोधनमा उनले जलवायु न्यायको मुद्दा उठाएका थिए । प्रधानमन्त्रीले १० भदौमा भोटेकोशीमा आएको विनाशकारी बाढीलाई जलवायु संकटको गम्भीर प्रभाव तथा विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत गरेका थिए । साथै, उनले उक्त विपत्बाट भएको जनधनको क्षति, भौतिक पूर्वाधार तथा जनजीविकामा परेको असरबारे विश्वसमुदायको ध्यानाकर्षण गराएका थिए ।
प्रधानमन्त्रीसँगको भेटमा राष्ट्रसंघ महासचिव गुटेरेसले भोटेकोशी विपत्मा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गरेका थिए । उनले जलवायु मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको उल्लेख गरेका थिए । प्रधानमन्त्री शाहले नेपालप्रतिको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिएका थिए ।
भेटमा नदीकिनारका बासिन्दाको पुनर्वास र हरित पुनर्निर्माणका विषयमा समेत छलफल भएको थियो । साथै, अतिकम विकसित राष्ट्र (एलडिसी) सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थपका लागि समर्थनका विषयमा पनि कुराकानी भएको निमित्त परराष्ट्रसचिव गणेशप्रसाद ढकालले जानकारी दिएका छन् ।
उच्चस्तरीय बैठकमा परराष्ट्रमन्त्री सहभागी
महासभाका क्रममा आयोजना हुने अतिकम विकसित मुलुकहरू, भूपरिवेष्टित विकासोन्मुख मुलुकहरू, असंलग्न मुलुकहरू, जी ७७ र चीनलगायत मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री शिशिर खनाल सहभागी भएका छन् । खनाल मंगलबार स्वदेश फर्किने कार्यक्रम छ ।
खनालले संयुक्त राष्ट्रसंघले आयोजना गरेका अन्य उच्चस्तरीय छलफल तथा कार्यक्रममा पनि सम्बोधन गरेका छन् । खनालले न्युयोर्कमा नेपाली डायस्पोराका सदस्यहरूसँग अन्तर्क्रिया गरेका छन् ।
त्यसैबिच, परराष्ट्रमन्त्री खनाल चीनद्वारा संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जिडिआई)’सम्बन्धी उच्चस्तरीय बैठकमा शनिबार सहभागी भए । उनले सन् २०३० सम्म दिगो विकास लक्ष्य (एसडिजी) हासिल गर्न बाँकी अवधिलाई तीव्र कार्यान्वयनको समयका रूपमा उपयोग गर्नुपर्ने बताएका छन् ।