नेपाल विद्युत् प्राधिकरणले कुलेखानी जलाशयमा पानीको सतह हाल सुरक्षित तहमा रहेको जनाएको छ। प्राधिकरणका अनुसार अहिले जलाशय क्षेत्रमा न्यून वर्षा भइरहेकाले बाँधका ढोका खोल्नुपर्ने अवस्था छैन।
प्राधिकरणले जलाशयको पानीको अवस्था परिवर्तन भई बाँधका ढोका खोल्नुपर्ने परिस्थिति आएमा त्यसअघि नै तल्लो तटीय क्षेत्रका बासिन्दा तथा सम्बन्धित सरोकारवालालाई जानकारी गराइने स्पष्ट पारेको छ।
यसका लागि प्राधिकरणले तीन चरणको चेतावनी प्रणाली व्यवस्था गरेको जनाएको छ। प्रत्येक चरणमा साइरन बजाउने तथा मोबाइल सन्देशमार्फत सूचना प्रवाह गर्ने व्यवस्था रहेको प्राधिकरणले जनाएको छ।
यसैबिच, विदेशका दृश्य तथा पुराना भिडियो जोडेर सामाजिक सञ्जालमा फैलाइएको ‘कुलेखानी बाँध फुट्यो’ भन्ने दाबीप्रति प्राधिकरणले सचेत रहन आग्रह गरेको छ।
प्राधिकरणले आधिकारिक स्रोतबाट पुष्टि नगरी सामाजिक सञ्जालमा आएका यस्ता सामग्रीमा विश्वास नगर्न तथा त्यस्ता सामग्री प्रसार नगर्न आग्रह गरेको छ। साथै, सम्भावित जोखिमका वेला सम्बन्धित निकायले जारी गर्ने सुरक्षा निर्देशन पालना गर्न पनि प्राधिकरणले अनुरोध गरेको छ।