सात ठाउँमा पहिरो, पृथ्वी राजमार्ग ठप्प

शुक्रबार, ९ असोज, २०८३
डिजिटल संस्करण
सात ठाउँमा पहिरो, पृथ्वी राजमार्ग ठप्प

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा खसकेको पहिरो पन्छाउदै । तस्विरः अर्जुन श्रेष्ठ/नयाँ पत्रिका दैनिक

लगातार वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङका सात ठाउँमा पहिरो खस्दा देशकै लाइफलाइन मानिने पृथ्वी राजमार्ग ठप्प बनेको छ ।

दुई दिनदेखि परेको वर्षाका कारण बेनीघाट रोराङ गाउँपालिका र गजुरी गाउँपालिकाका विभिन्न स्थानमा पहिरोका कारण सडकमा क्षति पुगेको हो ।

बेनीघाट रोराङ गाउँपालिका– ७, कृष्णभिरमा पहिरो खस्दा दुवैतर्फ सडक अवरुद्ध बनेको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) ले बताइन् । त्यस्तै, बेनीघाट रोराङ गाउँपालिका– १० को टिङराङखानी र गजुरी गाउँपालिका– ५, बाङ्गेमोडमा पहिरो खस्दा दुवैतर्फ सडक अवरुद्ध रहेको उनले बताइन् । 

त्यसैगरी, बेनीघाट रोराङ गाउँपालिका– ९, ज्यामिरेघाट र वडा नम्बर ३ शीतलबजारमा एकतर्फी रहेको छ । गजुरी गाउँपालिका– २ को परेवाभिर र चालिसेमा पनि एकतर्फी रहेको प्रमुख जिल्ला अधिकारी गौतमले बताइन् । 

लगातारको वर्षाका कारण राजमार्गका विभिन्न स्थानमा पहिरो तथा सडकमा क्षति पुगेकाले यात्रुको सुरक्षा तथा जोखिमलाई मध्यनजर गर्दै शुक्रबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्म पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा रोक लगाएको हो,’ उनले भनिन्, ‘राजमार्गलगायत ठाउँ–ठाउँमा पहिरो खसेको छ । पहिरो खसिरहेकाले पन्छाउन पनि समस्या छ । वर्षा रोकिए र पहिरो नझरे शनिबार बेलुकीसम्म राजमार्ग सञ्चालन गर्न सकिन्छ ।’ 

एम्बुलेन्स, दमकल, खाद्यान्नलगायत अत्यावश्क सवारीका लागि सकभर छिटो राजमार्ग खुलाउने प्रयास भइरहेको उनले बताइन् । ‘अहिले कृष्णभिर, टिङराङखानी र बाङ्गेमोडमा राजमार्ग ठप्प रहेकाले जेसिबीलगायतका उपकरण प्रयोग गरी चाँडै खुलाउने प्रयास भइरहेको छ । थप समस्या नआए शनिबार बेलुकासम्म राजमार्ग खुल्छ,’ उनले भनिन् । 
 

सुझावित समाचार