लगातारको वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढेपछि गुल्मीमा रातिको समयमा अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबारदेखि असोज १२ गते आइतबारसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका सवारीसाधन आवतजावतमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण पछिल्लो २४ घण्टामा गुल्मीको भार्सेमा १०९.६ मिलिमिटर र रिडीमा १०९.२ मिलिमिटर वर्षा भएको छ। विभागले आगामी केही दिनसम्म मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
बाढी तथा पहिरोबाट हुन सक्ने मानवीय क्षति न्यूनीकरणका लागि सवारी आवागमनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कमलसेन ओलीले बताए।
वर्षाका कारण गुल्मीका प्रमुख सडकसमेत प्रभावित भएका छन्। कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिका– २, राक्से र वडा नम्बर ४ को पातिखोलामा पहिरो गएको छ। यस्तै, रिडी–रुद्रवेणी–वामीटक्सार–बुर्तिबाङ सडकखण्डअन्तर्गत चन्द्रकोट– ७ को सिस्नेभिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
प्रहरीका अनुसार बागलुङ हुँदै बगेर आउने बडिगाड खोलामा पानीको सतहसमेत करिब दुई मिटर बढेको छ।
भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्ने पूर्वानुमानपछि गुल्मीका स्थानीय तहले बुधबारदेखि विद्यालयसमेत बन्द गरेका छन्।