ताप्लेजुङको दोभान बजारमा बिहीबार भएको भीषण आगलागीबाट करिब १४ करोड ५६ लाख रुपैयाँबराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार आगलागीबाट किराना पसल, भाँडावर्तन, लत्ताकपडा, अलैँची तथा घरहरू जलेर नष्ट भएका छन्।
जिल्लाको दोस्रो ठुलो बजार मेरिङ्देन गाउँपालिका– ३, खाम्लुङको दोभानमा बिहीबार दिउँसो १:४९ बजे आगलागी भएको थियो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विन्तेश्वर यादवका अनुसार आगलागीबाट पसलका सामान तथा घरसहितका संरचना जलेर नष्ट भएका छन्। केही नगदसमेत जलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार स्थानीय लाक्पाचुङ शेर्पाको घरबाट आगलागी सुरु भएको थियो। आगलागीबाट आठ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने दुई घरमा आंशिक क्षति पुगेको छ।
आगलागीका कारण घरधनी आठ परिवार र कोठा भाडामा लिएर बस्ने सात परिवार गरी १५ परिवार विस्थापित भएका छन्। उनीहरू आफन्त तथा अन्यत्र भाडामा बसेका छन्। प्रहरीका अनुसार विस्थापित हुनेमा लाक्पाचुङ शेर्पाको परिवारसहित स्थानीय भीम लङ्वा लिम्बू, चन्द्रप्रसाद पौडेल, यामबहादुर आङ्बुहाङ, घनश्याम खरेल, राजु शेर्पा, सुकवीर लिम्बू र राजेन्द्रप्रसाद पौडेलका परिवार छन्। त्यस्तै, भाडामा बस्ने अनिशा विक, सुनम लिम्बू, लाक्पा शेर्पा, श्याम चोङ्वाङ, आरती लिम्बू, काशीनाथ चुँडाल, बिनु लिम्बू, मोहन लिम्बू र खम्बासिंह लिम्बूका परिवार पनि विस्थापित भएका छन्।
प्रहरी निरीक्षक यादवका अनुसार पीडित परिवारले दिएको विवरण तथा आगलागीबाट क्षतिग्रस्त वस्तु र संरचनाको प्रारम्भिक मूल्यांकनका आधारमा क्षतिको विवरण संकलन गरिएको हो। क्षतिको यकिन विवरण भने थप मूल्यांकनपछि आउने प्रहरीले जनाएको छ। दोभान बजारमा यसअघि १८ फागुन ०७७ मा पनि भीषण आगलागी भएको थियो। त्यसवेला आगलागीबाट ४० घर जलेर नष्ट भएका थिए भने करिब ४९ करोड रुपैयाँभन्दा बढीको क्षति भएको थियो।