बाढीपछिको वैज्ञानिक तथा प्राविधिक अध्ययनमा सघाउने एडिबीको प्रतिबद्धता

बिहिबार, ८ असोज, २०८३
डिजिटल संस्करण

एसियाली विकास बैंक (एडिबी)का नेपाल राष्ट्रिय निर्देशक आर्नो कोशवाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग भेट गरेका छन्। भेटमा भोटेकोशीको विनाशकारी बाढीको वैज्ञानिक अध्ययन र क्षति मूल्यांकन, जलवायुमैत्री विद्युत् पूर्वाधार निर्माणमा सहकार्य र सहयोग गर्ने विषयमा छलफल भएको बताइएको छ।

सो क्रममा मन्त्री श्रेष्ठले मन्त्रालयले बाढीको वैज्ञानिक आधार खोज्न विज्ञ समिति गठन गरेर अध्ययन गरिरहेको जानकारी गराएका थिए। यसैगरी, अबको करिडोर कस्तो हुनुपर्छ भन्ने अध्ययन गर्न मन्त्रालयकै प्राविधिक टिम बनाइएको र अध्ययनपश्चात एकीकृत अवधारणा-पत्र बनाउन लागेको मन्त्री श्रेष्ठले जानकारी गराए। 

कोशवाले मन्त्रालयको विज्ञ र प्राविधिक टिमसँग सहकार्य गर्न तयार रहेको बताएका ऊर्जामन्त्रीको सचिवालयले जनाएको छ। नेपालको ऊर्जा क्षेत्रको समग्र विकासका लागि एडिबीका तर्फबाट वैज्ञानिक र प्राविधिक सहयोग गर्ने इच्छा व्यक्त गर्दै उनले क्षति मूल्यांकन र आगामी रणनीतिमा सघन काम गर्ने प्रतिबद्धता जनाए। 

भेटमा दुधकोशीको जलविद्युत् आयोजनाको शिरमा हिमतालहरू रहेको र जलवायु परिवर्तनको असर कस्तो पर्छ भनेर जोखिमको अध्ययन एडिबीले गरिरहेको जानकारी कोशवाले गराएका थिए। मन्त्री श्रेष्ठले यस्ता अध्ययनहरू अन्य बेसिनहरूमा पनि गर्नुपर्नेमा जोड दिँदै यसमा एडिबीको सहयोग महत्त्वपूर्ण हुने उल्लेख गरे।

सुझावित समाचार