कुलेखानी जलाशय क्षेत्रमा लगातार तीनपटक साइरन बजे तत्काल सुरक्षित स्थानमा जान आग्रह

बिहिबार, ८ असोज, २०८३
डिजिटल संस्करण

भारी वर्षाको पूर्वानुमानसँगै कुलेखानी जलाशयमा पानीको सतह बढ्न सक्ने जोखिमलाई ध्यानमा राखेर ड्यामको सुरक्षा साइरनसम्बन्धी तीन तहको चेतावनी प्रणाली सार्वजनिक गरिएको छ। कुलेखानी प्रथम जलविद्युत् केन्द्र र इन्द्रसरोवर गाउँपालिकाले बिहीबार सूचना जारी गर्दै साइरनको संकेतअनुसार तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका हुन्।

लगातार वर्षा हुँदा जलाशयमा पानीको सतह बढेर सुरक्षाका लागि स्पिलवे गेट अर्थात् बाँधको मुख्य ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने भएकाले पूर्वचेतावनीको व्यवस्था गरिएको हो। यस्तो अवस्थामा ड्यामको तल्लो तटीय क्षेत्र, खोलानाला र नदीकिनार आसपासका बस्तीमा जोखिम बढ्न सक्ने जलविद्युत् केन्द्र र गाउँपालिकाले जनाएका छन्।

सार्वजनिक सूचनाअनुसार साइरनको आवाज र अवधि फरक–फरक अवस्थाको संकेत हुनेछ। पहिलो साइरनले जलाशय भरिन लागेको, दोस्रोले पानीको सतह उच्चतम बिन्दुमा पुगेको र तेस्रोले बाँधको मुख्य ढोका खोलिएको तथा नदीमा पानीको सतह उच्च रूपमा बढ्ने अवस्था जनाउनेछ।

करिब एक मिनेट लामो साइरन एकपटक बजे पहिलो चेतावनी मानिनेछ। यसले कुलेखानी जलाशयमा पानी भरिन लागेको संकेत गर्नेछ। पहिलो चेतावनीपछि खोलाकिनारमा जुनसुकै उद्देश्यले जान पूर्ण प्रतिबन्ध लगाइनेछ। जलाशयको पानीको सतह बढिरहेको अवस्थामा नदी तथा खोला आसपासका बासिन्दालाई थप सतर्क रहन आग्रह गरिएको छ।

यस्तै, करिब दुई मिनेट लामो साइरन दुईपटक बजे दोस्रो चेतावनी अर्थात् उच्च सतर्कताको संकेत मानिनेछ। यसले जलाशयको सतह उच्चतम बिन्दुमा पुगेको अवस्था जनाउनेछ। यस्तो संकेत प्राप्त भएपछि बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र गर्भवतीलाई सुरक्षित स्थानमा सार्नुपर्नेछ। जोखिमयुक्त क्षेत्रमा रहेका पशुचौपायालाई पनि सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरिएको छ। दोस्रो चेतावनीपछि देउराली–कुलेखानी–सिस्नेरी सडकखण्ड प्रयोग गर्दा विशेष सावधानी अपनाउन जलविद्युत् केन्द्र र गाउँपालिकाले अनुरोध गरेका छन्।

लगातार छोटो–छोटो अन्तरालमा तीनपटक साइरन बजे तेस्रो तथा अन्तिम चेतावनी मानिनेछ। यसलाई खतराको संकेतका रूपमा बुझ्न जलविद्युत् केन्द्रले आग्रह गरेको छ । तेस्रो चेतावनीले बाँधका मुख्य ढोका खोलिएको र नदीको सतहमा उच्च वृद्धि हुने अवस्था संकेत गर्नेछ। यस्तो अवस्थामा नागरिकले तत्काल खोला किनार र गहिरो भाग छाडेर अग्लो तथा सुरक्षित स्थानमा जानुपर्ने सूचनामा उल्लेख छ। तेस्रो साइरन बजेपछि देउराली–कुलेखानी–सिस्नेरी सडकखण्डमा आवतजावत नगर्नसमेत आग्रह गरिएको छ।

सम्भावित भारी वर्षाका कारण जिल्ला प्रशासन कार्यालय मकवानपुरले पनि जलाशयसँगै नदीकिनार, पहिरोको जोखिम भएका बस्ती र सडकखण्डमा सुरक्षा सतर्कता बढाएको छ।

सुझावित समाचार