१८ सयको एप्पल पावर बैंक ३२ सयमा बिक्री गर्ने प्रनिस एप्पल स्टोरलाई दुई लाख जरिवाना

बिहिबार, ८ असोज, २०८३
डिजिटल संस्करण

१८ सय रुपैयाँ अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) उल्लेख भएको एप्पलको पावर बैंक ३२ सय रुपैयाँमा बिक्री गरेको भेटेपछि जावलाखेलस्थित प्रनिस एप्पल स्टोर एण्ड सर्भिस सेन्टर प्रालिलाई बाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागले दुई लाख एक हजार रुपैयाँ जरिवाना तिराएको छ।

एक उपभोक्ताले एमआरपीभन्दा बढी मूल्य लिइएको र बिलबिजक समेत नदिएको उजुरी विभागमा दिएपछि उक्त पसलमा बिहिबार एक टोली अनुगमनका लागि पुगेको थियो। त्यसक्रममा एमआरपीमा उल्लेख भएभन्दा बढी पैसा उपभोक्ताबाट लिएको र बिलसमेत जारी नगर्ने गरेको भेटिएको विभागका प्रवक्ता अनिल किराँतीले जानकारी दिए।

‘एमआरपीभन्दा बढी पैसा लिएको मात्र होइन, बिलसमेत जारी नगरी एप्पलका सामग्रीहरु बिक्री गर्ने गरिएको भेटियो,’ उनले भने, ‘त्यसपछि अनुगमनस्थलमै विभागका निरीक्षण अधिकृतबाट जरिवाना तिराइएको हो।’

विभागले पछिल्लो समय एमआरपी लागू नगर्ने र बिलबिजक जारी नगर्नेलाई उपभोक्ता संरक्षण ऐन, ०७५ अनुसार अधिकतम जरिवाना तिराउने गरेको छ। ‘बजारमा प्रतिस्पर्धी व्यापारका माध्यमबाट उपभोक्ताहित कायम गर्न एमआरपीको सही कार्यान्वनय र अनिवार्य बिलबिजक जारी गर्नुपर्ने नियमलाई कडाईका साथ कार्यान्वयन गराउन खोजिरहेका छौं’ किराँतीले भने।

सुझावित समाचार