नारायणगढ–मुग्लिन सडक राति ८ बजेदेखि बिहान ५ बजेसम्म बन्द रहने

बिहिबार, ८ असोज, २०८३
डिजिटल संस्करण

निरन्तरको वर्षाका कारण हुन सक्ने बाढीपहिरो र डुबानको सम्भावित जोखिमलाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन सडकखण्डमा आज बिहीबार रातिदेखि नौ घण्टा सवारी आवागमन बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले असोज ८ गते राति ८ बजेदेखि ९ गते शुक्रबार बिहान ५ बजेसम्म उक्त सडकखण्डमा चल्ने सम्पूर्ण सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको हो। मौसममा आएको परिवर्तनका कारण चितवन र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको र आगामी केही दिनमा अति भारी वर्षा हुन सक्ने सम्भावना रहेको भन्दै प्रशासनले रातिको यात्रा रोक्ने निर्णय गरेको जनाएको छ।

प्रशासनका अनुसार भारी वर्षाबाट बाढी, पहिरो र डुबानलगायत विपद्जन्य जोखिम उत्पन्न हुन सक्ने भएकाले यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न अस्थायी रूपमा सडक बन्द गर्न लागिएको हो।

सडक बन्द रहने अवधिमा नारायणगढ–मुग्लिन सडकखण्ड हुँदै यात्रा गर्ने सवारीसाधनले निर्धारित समयअनुसार यात्रा व्यवस्थापन गर्नुपर्नेछ। प्रशासनले यात्रु तथा चालकलाई मौसम र सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न, जोखिमयुक्त स्थानमा नजान र सम्बन्धित निकायबाट जारी हुने सुरक्षा निर्देशन पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।

सुझावित समाचार