मकवानपुरका पाँच पालिकामा दुई दिन विद्यालय बन्द

बिहिबार, ८ असोज, २०८३
डिजिटल संस्करण

भारी वर्षासँगै बाढीपहिरोको सम्भावित जोखिमलाई ध्यानमा राख्दै मकवानपुरका पाँच गाउँपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। राक्सिराङ, इन्द्रसरोवर, भीमफेदी, कैलाश र मनहरि गाउँपालिकाले विद्यार्थी तथा शिक्षकको सुरक्षाका लागि बिहीबार र शुक्रबार पालिकाभित्रका विद्यालयमा बिदा दिएका हुन्।

जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेपछि स्थानीय तहहरूले सतर्कता बढाएका छन्। विशेषगरी विकट बस्तीबाट खोला, खहरे र खोल्सी तरेर विद्यालय आउजाउ गर्नुपर्ने विद्यार्थी तथा शिक्षकलाई जोखिम हुन सक्ने भएकाले विद्यालय बन्द गरिएको हो।

राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले पालिकाका विभिन्न स्थानमा विद्यार्थी र शिक्षकले विद्यालय पुग्न खहरे तथा खोला तर्नुपर्ने अवस्था रहेकाले सम्भावित दुर्घटना न्यूनीकरण गर्न दुई दिन बिदा दिइएको बताए। ‘वर्षा बढ्दा विद्यार्थी र शिक्षकको विद्यालय आउजाउ नै जोखिमपूर्ण हुन सक्छ। त्यसैले पूर्वसावधानीका रूपमा विद्यालय बन्द गर्ने निर्णय गरेका हौँ,’ मल्लले भने।

इन्द्रसरोवर गाउँपालिकाले पनि बिहीबार र शुक्रबार विद्यालय बन्द गर्ने सार्वजनिक सूचना जारी गरेको छ। यस्तै कैलाश गाउँपालिकाले पनि शुक्रबार बिद्यालय बन्द रहने जनाएको छ। पालिका अध्यक्ष लोकबहादुर मुक्तानले विद्यार्थी तथा शिक्षक खोल्सी, खहरे र खोला पार गरेर विद्यालय पुग्नुपर्ने भएकाले सुरक्षा जोखिमलाई ध्यानमा राखी बिदा दिएको बताए।

यता भीमफेदी गाउँपालिकाले पनि सूचना निकालेर सम्भावित वर्षा र बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै शुक्रबार विद्यालयमा बिदा दिएको जनाएको छ। जिल्लाको मनहरि गाउँपालिकाले असोज ८ र ९ गते विद्यालय बन्द गर्ने निर्णय गरेको छ। गाउँपालिकाले जारी गरेको सूचनामा असोज ८ देखि ११ गतेसम्म ठुलो वर्षा हुन सक्ने सम्भावना रहेको उल्लेख गर्दै शिक्षक तथा विद्यार्थीको आवतजावत र सुरक्षालाई ध्यानमा राखेर दुई दिन बिदा दिइएको जनाएको छ।

गाउँपालिकाका वरिष्ठ विद्यालय निरीक्षक प्रदीप पराजुलीद्वारा हस्ताक्षरित सूचनामा उक्त बिदा पछि मिलान गरिने उल्लेख छ ।
गाउँपालिकाले विद्यालयको भौतिक संरचना, विद्यार्थी तथा शिक्षकको सुरक्षा र सेवा क्षेत्रभित्र हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन आग्रह पनि गरेको छ।

विद्यालयका प्रधानाध्यापक तथा प्रशासनलाई मौसम र स्थानीय परिस्थितिअनुसार वडा कार्यालयसँग समन्वय गर्न भनिएको छ। कुनै विपतजन्य घटना भए तत्काल विद्यालयको इआरएमएसमा अद्यावधिक गरी गाउँपालिकाको विपत् शाखामा जानकारी गराउनसमेत निर्देशन दिइएको छ।

हेटौँडा उपमहानगरपालिकाले भने विद्यालय बन्द गर्ने सम्बन्धमा हालसम्म नगरव्यापी सूचना जारी गरेको छैन। यद्यपि, हेटौँडा– ४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय र हेटौँडा– १९ स्थित निर्मल माध्यमिक विद्यालयले बिदा दिएका छन्।

सुझावित समाचार