दक्षिण एसियाका महिलाको आर्थिक सशक्तीकरणका लागि सामूहिक पहल तथा क्षेत्रीय सहकार्य गर्न यस क्षेत्रका महिलाले कार्यदिशा तय गरेका छन् । दक्षिण एसियाली महिला विकास मञ्च (एसएडब्लुडिएफ)ले फेम परियोजनाअन्तर्गत आयोजना गरेको दुईदिने क्षेत्रीय नीति संवाद तथा पैरवी कार्यशालाका सहभागीले यस्तो कार्यदिशा तय गरेका हुन् ।
काठमाडौंमा ५–६ असोजमा आयोजित कार्यशालामा बंगलादेश, नेपाल, पाकिस्तान, श्रीलंका, भारत, माल्दिभ्स र भुटानका गरी २० जना प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यशालाले क्षेत्रीय पैरवीका सिफारिस तथा आगामी कार्यदिशा तय गरेको हो । यस क्रममा विभिन्न देशमा अनुकूलन तथा कार्यान्वयन गर्न सकिने नीतिगत अभ्यास, देशअनुसारका विशिष्ट आवश्यकता र सन्दर्भ, क्षेत्रीय सहकार्यका प्राथमिकता तथा महिला आर्थिक सशक्तीकरणका लागि निरन्तर सामूहिक पहलका अवसरमा विशेष जोड दिइएको छ ।
कार्यक्रममा मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजालले महिलाको आर्थिक सशक्तीकरणलाई अघि बढाउन सामूहिक क्षेत्रीय पैरवीको आवश्यक रहेको बताइन् । नेपालका लागि फ्रान्सका मनोनीत राजदूत महामहिम फ्रान्स्वाँ पुइग–इन्जाले आर्थिक विकासका लागि आर्थिक अवसर तथा नारीवादी नागरिक समाजका संस्थाहरूको भूमिकालाई अझ सुदृढ बनाउनुपर्ने बताइन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी उपसचिव अन्जु पोखरेलले महिलाको हकहितको पैरवी गर्दा केवल केन्द्रीय तहमा मात्र सीमित नभई स्थानीय तथा प्रादेशिक तहमा पनि ध्यान दिनुपर्ने आवश्यकतामाथि जोड दिइन् ।
उक्त ‘क्षेत्रीय पहल’ कार्यक्रमलाई फ्रान्सेली विकास नियोग तथा फ्रान्सको युरोप तथा विदेश मामिला मन्त्रालयको सहयोग रहेको छ । पहलकी ‘समावेशीकरण तथा ऊर्जा कार्यक्रम’ प्रमुख मारिना डुबोइसले युरोपदेखि दक्षिण एसियासम्म सञ्चालित नवीकरणीय ऊर्जासम्बन्धी विभिन्न परियोजना र तिनबाट सिर्जित अवसरबारे आफ्ना धारणा राखिन् ।