प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मौसममा सुधार नभएसम्म विशेष सतर्कता अपनाउन आह्वान गरेका छन्। मौसम विज्ञान विभागको मौसमसम्बन्धी प्रक्षेपण उल्लेख गर्दै प्रधानमन्त्रीले फेसबुकमार्फत सम्पूर्ण नागरिकलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेका हुन्।
विभागले असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको आकलन गरेको छ।
‘सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्र्यान बहाब, डुबान तथा सडक र हवाई यातायातमा समेत अवरोध हुन सक्ने भएकाले सम्पूर्ण नागरिकलाई आवश्यक सावधानी अपनाउन अनुरोध गर्दछौँ,’ प्रधानमन्त्रीले लेखेका छन्, ‘पानी परिरहेको समयमा तथा रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न अनुरोध गर्दछौँ। पहिरो तथा बाढीको जोखिम भएका क्षेत्र, नदी तथा खोलानजिकका क्षेत्रमा विशेष सतर्कता अपनाउन अनुरोध छ।’
प्रधानमन्त्री शाहले ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना भए मौसम सुधार नभएसम्म यात्रा स्थगित गर्न वा पुनर्विचार गर्न भनेका छन्।
विभाग र स्थानीय प्रशासनबाट जारी हुने सूचनाहरू नियमित रूपमा हेर्न र निर्देशन पालना गर्न नागरिकलाई आग्रह गर्दै उनले सम्बन्धित निकायहरूलाई पूर्वतयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन भनेका छन्।