कपिलवस्तुमा एकै महिनामा ४२ लाखभन्दा बढी राजस्व संकलन, ५१ फरार प्रतिवादी पक्राउ

बुधबार, ७ असोज, २०८३
डिजिटल संस्करण

अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम तथा राजस्व चुहावट रोक्न जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सक्रियता बढाएको छ। प्रहरीले भदौ महिनामा मात्रै ४२ लाख ५३ हजार १०८ रुपैयाँ राजस्व संकलन गर्नुका साथै विभिन्न मुद्दामा फरार रहेका ५१ जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार भन्सार तथा राजस्व चुहावट नियन्त्रणतर्फ १८ लाख ७५ हजार १०८ रुपैयाँ र नियमित सवारीसाधन चेकिङका क्रममा २३ लाख ७८ हजार रुपैयाँ गरी कुल ४२ लाख ५३ हजार १०८ रुपैयाँ राजस्व संकलन भएको हो। भन्सार चोरी–पैठारीमा प्रयोग भएका तीनवटा सवारीसाधनसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

अदालतको फैसला कार्यान्वयनलाई प्राथमिकतामा राख्दै सञ्चालन गरिएको अभियानअन्तर्गत ४९ पुरुष र दुई महिला गरी ५१ जना फरार प्रतिवादी पक्राउ परेका छन्। उनीहरूबाट १९ वर्ष ७ महिना १७ दिन कैद सजाय भुक्तान गराउनुका साथै २ लाख ५१ हजार २८७ रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले जिल्लामा कानुनको शासन पूर्ण रूपमा पालना गराउन प्रहरी अहोरात्र खटिरहेको बताए। ‘अपराध गरेर कसैले पनि उन्मुक्ति पाउँदैन। चाहे त्यो पुराना पेन्डिङ मुद्दाका फरार अभियुक्त हुन् या राजस्व छली गर्नेहरू,’ एसपी भट्टले भने, ‘हाम्रो मुख्य प्राथमिकता अपराधमुक्त समाज निर्माण गर्नु, राजस्व चुहावट शून्यमा झार्नु र आम नागरिकलाई सुरक्षित महसुस गराउनु हो।’

प्रहरीको सक्रियतालाई आगामी दिनमा अझ सशक्त बनाउँदै लैजाने उनले बताए। कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले प्रहरीको उपलब्धिको पछाडि योजनाबद्ध अपरेसन र टोलीको निरन्तरको मेहनत रहेको बताए।

‘भन्सार चोरी–निकासी नियन्त्रण, फैसला कार्यान्वयन र गैरकानुनी क्रियाकलापविरुद्ध हामीले शून्य सहनशीलताको नीति लिएका छौँ,’ डिएसपी सिंहले भने, ‘भदौ महिनामा प्राप्त उपलब्धि प्रहरी टोलीको उच्च मनोबल र नागरिकसँगको सहकार्यको प्रतिफल हो।’

समाजलाई अपराधमुक्त बनाउन नियमित चेकिङ र अपरेसनलाई अझ प्रभावकारी बनाउँदै लैजाने उनले बताए। प्रहरीका अनुसार भदौ महिनामै चालु मुद्दाका ७२ जना प्रतिवादी पक्राउ परेका छन् भने वर्षौंदेखि सल्टाउन बाँकी रहेका ४६ वटा पुराना पेन्डिङ मुद्दा फछ्र्यौट गरिएको छ।

यसैगरी, लागुऔषध नियन्त्रण अभियानअन्तर्गत २० जनालाई पक्राउ गरी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ। समाजमा शान्ति सुरक्षामा खलल पुर्याउने अवैध हातहतियार नियन्त्रण गर्ने क्रममा पाँच नाल भरुवा बन्दुक बरामद गरिएको छ।अवैध मदिराविरुद्धको कारबाहीमा ६०५ लिटर कच्चा पदार्थ र २ हजार ८१२ लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको प्रहरीले जनाएको छ। जिल्लामा शान्ति सुरक्षा सुदृढ बनाउन तथा अवैध गतिविधि नियन्त्रण गर्न प्रहरीले रातदिन गस्ती र सुरक्षा जाँचलाई थप कडा बनाएको जनाएको छ।

See More On

सुझावित समाचार