प्रवासी नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. भीष्म अधिकारी

बुधबार, ७ असोज, २०८३
डिजिटल संस्करण

नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य डा. भीष्म अधिकारीले विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न पार्टी सकारात्मक हुनुपर्ने बताएका छन् । पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै अधिकारीले वैदेशिक रोजगारी, अध्ययन तथा व्यवसायका कारण ठुलो संख्यामा नेपाली विदेशमा रहेकाले उनीहरूका चासो र मागप्रति पार्टी गम्भीर हुनुपर्ने बताए ।

उनले विदेशमा बस्ने नेपालीलाई वंशजको नागरिकता दिने विषयमा पनि पार्टी सकारात्मक हुनुपर्ने धारणा राखे । पछिल्लो निर्वाचनमा डायस्पोरामा रहेका नेपालीले घर–घरमा प्रभाव पारेको उल्लेख गर्दै उनले त्यसको परिणामलाई ध्यानमा राखेर प्रवासी नेपालीसँगको सम्बन्ध सुधार गर्नुपर्ने बताए ।

अधिकारीले वैदेशिक रोजगारी अवसरसँगै चुनौती पनि भएकाले यसका सकारात्मक तथा नकारात्मक पक्षबारे पार्टीले विश्लेषण गर्नुपर्ने बताए । अन्तर्राष्ट्रिय बसाइँसराइ र त्यसले नेपालको घरेलु राजनीतिमा पार्ने प्रभावबारे गहिरो अध्ययन आवश्यक रहेको उनको भनाइ थियो ।

विदेशमा रहेका नेपालीले स्थानीय तहदेखि राष्ट्रिय राजनीतिसम्म पार्ने प्रभाव आगामी दिनमा घट्ने नभई बढ्दै जाने देखिएको भन्दै अधिकारीले यस विषयमा एमालेभित्र व्यापक बहस आवश्यक रहेको बताए ।

सुझावित समाचार