रसुवाकाे भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण सम्पर्कविहीन भएका व्यक्तिहरूको तथ्यांक यकिन गर्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा समितिका सदस्य तथा जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका कर्मचारीसँग भर्चुअल छलफल गरिएको छ।
प्राधिकरणका सहसचिव बलराम निरौलाको अध्यक्षतामा भएको छलफलमा बाढीपछि सम्पर्कविहीन व्यक्तिहरूको वास्तविक संख्या यकिन गर्ने विषयमा गहन छलफल भएको हो।
छलफलका क्रममा सम्पर्कविहीन व्यक्तिहरूको नाम सम्बन्धित व्यक्तिको गृहजिल्लाका साथै बाढी प्रभावित रसुवा र नुवाकोट जिल्लामा समेत आफन्तहरूले टिपाएको पाइएको जनाइएको छ। एउटै व्यक्तिको नाम विभिन्न जिल्लाबाट टिपोट हुँदा तथ्यांकमा दोहोरिएको हुन सक्ने भएकाले त्यस्ता विवरण रुजु गर्ने विषयमा छलफल भएको हो।
सम्पर्कविहीनको तथ्यांकमा देखिएको दोहोरोपन हटाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आ–आफ्नो जिल्लामा विवरण यकिन गर्ने र त्यसपछि सेतु एपमा अद्यावधिक गर्ने सहमति भएको छ।
यस प्रक्रियाबाट एउटै व्यक्तिको नाम विभिन्न स्थानबाट समावेश भएको भए त्यसलाई पहिचान गरी वास्तविक सम्पर्कविहीनको संख्या यकिन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।