पश्चिमोत्तर भारतबाट मनसुन बाहिरिन थालेसँगै त्यसको प्रभाव नेपालतर्फ पनि पर्न सक्ने मौसमविद्हरूले बताएका छन्। पञ्जाब, हरियाणा, राजस्थान र दिल्लीसहित भारतको उत्तरपश्चिमी क्षेत्रमा मनसुन कमजोर हुँदै जाँदा सुक्खा हावा विकास भइरहेको उनीहरूको भनाइ छ।
मौसमविद्हरूका अनुसार यस्तो वायुमण्डलीय अवस्थाले बंगालको खाडीबाट पश्चिमतर्फ अघि बढ्ने न्यूनचापीय प्रणालीको मार्गमा प्रभाव पार्न सक्छ। त्यसको असर नेपालतर्फ बढ्न सक्ने सम्भावना रहेको उनीहरूले बताएका छन्।
यद्यपि, यसको अर्थ नेपालमा सिधै चक्रवात आउने भने होइन। बंगालको खाडीमा विकसित प्रणालीले जलवाष्प बोकेर नेपालतर्फ प्रभाव पार्न सक्ने र अन्य वायुमण्डलीय प्रणालीसँग मिश्रण हुँदा वर्षा बढ्ने सम्भावना रहेको मौसमविद्हरूको विश्लेषण छ।
‘भारतको पश्चिमबाट मनसुन गइसकेको छ। तर, दक्षिणबाट हावा आइरहेको छ। त्यो पश्चिम जान नपाएर नेपाल आउने देखिन्छ। नेपालमा असर पर्ने मुख्य कारण त्यही हो,’ पोखरेलले भने।
बंगालको खाडीमा विकसित प्रणाली थप विकसित हुँदै चक्रवातको मापदण्डमा पुगेमा त्यसलाई ‘अर्नब’ नाम दिइनेछ। ‘अर्नब’ नाम बंगलादेशले प्रस्ताव गरेको हो।